सीपीएलको उपाधि ट्रिनबागो नाइट राइडर्सलाई

-प्रज्ज्ल थापा

दुलेगौँडा (तनहूँ) । केरेबियन प्रिमियर लिग (सिपिएल) २०२० को उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ । हिजोराति भएको फाइनल खेलमा ट्रिनबागोले सेन्ट लुसिया जुक्सलाई ८ विकेटलाई पराजित गर्दै उपाधि जितेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट लुसिया जुक्सले १९.१ ओभरमा अल आउट हुँदै मात्र १५४ रन बनाउन सफल भयो । जुक्सको लागि आन्द्रे फेल्चरले सर्वाधिक ३९ रनको इनिङ्स खेले । उनले २७ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । मार्क डियल २९, रोस्टन चेसले २२, नाजिबुल्लाह जाड्रनले २४ रन बनाउदा अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । ट्रिनबागोको लागि काइरन पोलार्डले ४ ओभर बलिङ गर्दै ३० रन दिएर ४ विकेट लिए । यस्तै अलि खानले २, होसिनले १ र फवाड अहमेदले २ विकेट हात पारे ।

१५५ रनको विजय लक्ष्य पछ्याएको ट्रिनबागोले राम्रो सुरुवात गर्न सकेन । ट्रिनबागोले २.४ ओभरमा आफ्नो पहिलो विकेट गुमायो । ओपर वेबस्टर ११ बलमा ५ रन जोड्दै पभोलियन फर्किए । यस्तै अर्को ओभरमा टिम सेइफ्रिट ४ रन जोडेर आउट भए । त्यसपछि ब्याटिङ गर्न आएका ड्यारेन ब्राभोले उत्कृष्ट ब्याटिङ गर्दा लेन्डल सिमोन्ससँग तेस्रो विकेटको लागि १३८ रनको साझेदारी गरेपछि ट्रिनबागोले ११ बल अघि नै १५७ रन बनाएर विजय हासिल गर्यो । ट्रिनबागोको जितमा सिमोन्सले उत्कृष्ट इनिङ्स खेल्दै ४९ बलमा ८४ जोड्दा ब्राभोले ४७ बलमा ५८ रन जोडे । जुक्सको लागि रोस्टन चेस र कुगेल्जिनले १,१ विकेट लिए । ट्रिनबागोले प्रतियोगिताभर अपराजित रहेर उपाधि कब्जा गर्यो ।

उत्कृष्ट ब्याटिङ गरेका लेन्डल सिमोन्स फाइनलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए । प्रतियोगिताभर सानदार प्रदर्शन गरेका काइरन पोलार्ड ‘प्लेयर अफ दि सिरिज’ घोषित भए । उनले ११ खेलमा २०७ रन बनाउदै ८ विकेट हात पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *