बैतडी । १७ बर्षीया किशोरी बलात्कार प्रकरणमा बैतडी प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा सिगास गाउँपालिकाका दानबहादुर बोहरा र धनबहादुर बोहरालाई पक्राउ गरिएको हो ।
उनीहरु दुवै जनालाई बुधबार साँझ नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, ‘हामीले किशोरी बलात्कार प्रकरणमा सुक्ष्मरुपले अनुसन्धान गरिरहेका छौं । पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा थप दुई जनालाई पक्राउ गरेका छौं ।’
पक्राउ गरेकाहरुलाई आज बिहीवार अदालतबाट म्याद थपेर अनुसन्धान थालिने डिएसपी अधिकारीले जानकारी दिए । यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा शिक्षक खड्क बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहरालाई पक्राउ गरेर अनुसन्धान भईरहेको छ ।
‘हामीले अघिल्लो दिन पक्राउ गरेका तीन जनामाथि अदालतबाट म्याद थपेर अनुसन्धान अगाडि बढाईसकेका छौं,’ डिएसपी अधिकारीले भने, ‘बलात्कार जस्तो जघन्य अपराधमा संलग्न कसैलाई पनि छोडिदैन् । अहिले नै हामी निष्कर्षमा पुगिसकेका छैनौं । घटनाको पूर्ण रुपले अनुसन्धान भईरहेको छ ।’
सिगासकी १७ बर्षीया किशोरीमाथि विद्यालयमै पढाउने शिक्षकबाट पटक पटक बलात्कार गरेको खुलेपछि अहिले यो घटनाले चर्चा पाएको छ । घटना पहिलेकै भएपनि किशोरीले बिहे गरेको ६ महिनामै बच्चा जन्माएपछि उनीमाथि बलात्कार भएको घटना बाहिर आएको थियो ।
अहिले पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ । सुरक्षासहितको उपचार सेवा र परामर्श सेवा दिने उद्देश्यलाई उनलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।
