काठमाडौँ । ललितपुरको अल्का अस्पतालकी एक महिला कर्मचारीको हत्या भएको छ । प्रहरीले अल्का अस्पतालमा कार्यरत ३९ वर्षीय गीत केशीको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जङ्गलमा फेला पारेको हो ।
हत्याको आशंकामा केसीको घर रहेको भैंसीपाटीबाट उनकै भतिजा निर्मल केसीलाई पक्राउ गरिएको छ । उनलाई अहिले ललितपुर प्रहरी परिसर जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि परिसरमा उजुरी दिएको थियो । प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जङ्गलमा महिलाको शव भेटिएको थियो ।
महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझाले शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको जानकारी दिएका छन् । गीताको घाँटी थिचेर हत्या भएको अनुमान प्रारम्भिक अनुसन्धानबाट गरिएको छ ।
