बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको सङ्ख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ ।
घटनास्थलमा फेला परेका शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । बाढीले ३१ घरमा पूर्ण क्षति पुर्याएको छ । “हालसम्म ४१ जना बेपत्ता भएको सूचना स्थानीयवासीबाट प्रहरीलाई प्राप्त भएको छ”, उनले भने ।
घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ । घटनामा हालसम्म चार जना घाइते भएको प्रहरीको भनाइ छ । अरिवरल वर्षासँगै गएराति १२ वजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
प्रहरीका अनुसार बाढीका कारण घाइते हुनेमा ढोरपाटन न.पा.४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन रहेका छन् ।
बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ । उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन, उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् । त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया नै दिलमाया घर्तीमगर र उनको छोराका ६ वर्षीय बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नवीन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिएका छन् ।
पहिरोमा बेपत्ता भएकामध्ये ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३०/३२ वर्षको पुरुषको शव फेला परेको छ । ढोरपाटनकै वडा नं ५ बुडाथोकस्थित पुलको लठ्ठामा अड्केको अवस्थामा अन्दाजी ३०/३५ वर्षका पुरूषको शव भेटिएको उनले बताए । त्यस्तै बडिगार्ड गाउँपालिका–५ बालुवामा अन्दाजी २०/२२ वर्षका पुरूष र बडिगाड–७ खोप्चेमा अन्दाजी १२/१३ का पुरूषको शव फेला परेको भण्डारी बताए । शवको सनाखत हुन सकेको छैन ।
