संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्छ : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्ने बताएका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले महिला नेत्री स्व मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल साप्ताहिक कार्यक्रमको समापन कार्यक्रममा उनले संविधानले दिएको अधिकार कार्यान्वयनका लागि महिला सशक्त भएर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

नेता सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने तथा उनीहरुको पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला स्व सिंह भएको उल्लेख गरे । पार्टीको १४ औँ महाधिवेशनका लागि महिलालाई क्रियाशिल बनाउनु जरुरी रहेको सिंहको भनाई थियो । काँग्रेस कोषाध्यक्ष सीतादेवी यादवले नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताए । केन्द्रीय सदस्य सुजाता कोइरालाले स्व सिंहले महिला अधिकार र प्रजातन्त्र स्थापनका लागि महत्वपूर्ण भूमिका खेलेको बताइन् । “संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिएपनि महिलाको अधिकार किन स्थापित हुन सकेन, काँग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ”, उनले भनिन् ।

केन्द्रीय सदस्य एवम् गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले महिला समानता, सामाजिक न्याय र राजनीतिक अधिकार निर्माणमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । केन्द्रीय सदस्य कमला पन्तले संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व भएपनि महिलाले केही अधिकार स्थापित गर्न नसकेको उल्लेख गरिन् । “नेपाली महिलाहरु पार्टीभित्र एक ठाउँमा उभिन सकेमात्र चाहेको अधिकार प्राप्त गर्न सक्छौँ”,उनले भनिन् । केन्द्रीय सदस्य पुष्पा भुसालले मङ्गलादेवी सिंह काँग्रेसको मात्र नेता नभई नेपाली सबै महिलाको नेता भएको उल्लेख गरिन् । पार्टीका पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ, मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले महिलाका कारण नेपाली काँग्रेस बलियो भएको बताउँदै नेतृत्व तहमै महिलालाई ३३ प्रतिशत अधिकार दिनुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *