एकै वर्षमा ७ सय ३६ सशस्त्र प्रहरी कारवाहीमा

काठमाडौँ । सशस्त्र प्रहरी बलका सात सय बढी कर्मचारी पछिल्लो एक वर्षको अवधिमा कारबाहीमा परेका छन् । सशस्त्र प्रहरी उपरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्म गरि ७ सय ३६ जना कर्मचारी विभिन्न विभागीय कारबाहीमा परेको सशस्त्र प्रहरी बल नेपालको मुख्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा सशस्त्र प्रहरी उपरीक्षक एक, नायव उपरीक्षक ६ र निरीक्षक १३ गरी २० जना सिनियर अधिकृत छन् भने जुनियर अधिकृत ३२ छन् । त्यसैगरी बिल्लादार, जवान तथा परिचर गरि ६ सय ८० जना रहेका छन् । नसिहतदेखि सेवाबाट बर्खास्तसम्मको कारबाहीमा ती कर्मचारी परेका हुन् । तीमध्ये १ सय ३३ जनालाई सेवाबाट बर्खास्त गरिएको मुख्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल शुन्य सहनशीलतामा निर्मम बन्दै गएपछि ती कर्मचारी कारबाहीमा परेको मुख्यालयका एक वरिष्ठ अधिकृतले बताए । अनुशासन उलंघन गर्ने र संगठनले लिएको लैंगिक हिंसा र भ्रष्टाचार शुन्य सहनशीलताविपरित कार्य गर्ने जो कोही पनि कारबाहीमा पर्ने बताउँदै ती अधिकृत भन्छन्– “यसमा सशस्त्र प्रहरी महानिरीक्षकको स्पष्ट आदेश छ ।” सशस्त्र प्रहरी महानिरीक्षक खनालले पनि मुख्यालयदेखि मातहतलाई दिने निर्देशनका क्रममा पनि शुन्य सहनशीलताको कुरा पटक पटक सम्झाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *