काठमाडौँ । भारतीय र चिनियाँ सेनाबीच फेरि झडप भएको छ । भारत सरकारले सोमबार पूर्वी लद्दाखमा दुई देशका सेनाबीच झडप भएको पुष्टि गरेको हो ।
चिनियाँ सेनाले सीमा सम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतको आरोप लगाउँदै चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई भारतीय सेनाले रोकेको बताइएको छ ।
चिनियाँ सेनाले सीमामा यथास्थितीको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको भारतीय अधिकारीहरुले बताएका छन् । भारतले चिनियाँ सेनासँग झडप भएको बताए पनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ ।
साथै यस झडपमा भएको हताहतीको विषयमा पनि कुनै जानकारी दिइएको छैन । गत जुन १५ मा पनि भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो । साढे २ महिनापछि पुनः दुई देशका सेनाबीच सीमाको विषयमा झडप भएको हो ।
गत जुनमा लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा झडप भएको थियो । उक्त झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो । चीन पक्षले भने आफ्ना सेनाको अवस्थाको बारेमा जानकारी दिएको थिएन ।
भारत सरकारको प्रेस सूचना ब्युरोले भारत र चीनका सेनाबीच भएको हालको झडपको विषयमा जानकारी दिएको छ । ब्युरोले भनेको छ, “भारतीय सेनाले पाङगोङ सो तालमा चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई रोकिदिएको छ । भारतीय सेना संवादमार्फत शान्ति स्थापना गर्न चाहन्छ । साथै आफ्नो क्षेत्र र अखण्डताको सुरक्षाको लागि पनि प्रतिबद्ध छ । यहाँ जारी विवादको विषयलाई लिएर ब्रिगेड कमाण्डरस्तरमा बैठक जारी छ ।’
भारतीय सेनाका अनुसार हालैको झडप दुई दिनअगाडि अगष्ट २९ को राति भएको थियो । चिनियाँ जनमुक्ति सेनाले सीमाको यथास्थितीलाई परिवर्तन गर्ने प्रयास गरेपछि भारतीय सेनाले प्रतिकार गर्दै त्यस्तो हुन नदिएको भारतको भनाइ छ ।
गतहप्ता मात्र भारतका विदेशमन्त्री एस जयशंकरले चीनसँगको वास्तविक नियन्त्रण रेखामा सन् १९६२ यताकै सबैभन्दा ठूलो तनाव उत्पन्न भएको बताएका थिए । उनले भनेका थिए, “निश्चित रुपमा सन् १९६२ पछि यो नै गम्भिर अवस्था हो । यति मात्र नभएर ४५ वर्षपछि चीनसँगको संघर्षमा सैनिक मारिए । दुवै देशले सेना अप्रत्याशित रुपमा तैनाथ गरेका छन् ।’
पूर्वी लद्दाखमा पछिल्लो समय चीनले आफ्ना सेनाहरु बढाएर तैनाथ गरेको छ । भारतले पनि सोही मात्रामा सेनाहरु तैनाथ गर्न थालेको छ । १५ जुनको घटनापछि दुवै देशका सेना विवादित क्षेत्रबाट पछाडि हट्न सहमत भएका थिए । तर चीनका सेना विवादित क्षेत्रबाट आंशिकरुपमा मात्र हटेको भारतको आरोप छ । चीनका सेना खासगरी पाङगोङ सो ताल क्षेत्रमा जम्मा भएको बताइएको छ ।
