प्रहरी नै आपराधिक गतिविधिमाः जुनियरमाथि कारबाही, सिनियरलाई उन्मुक्ति

काठमाडौ । ‘बा.६च ५५१९ नम्बरको स्कार्पियोबाट सुनको जलप लगाइएका साढे १४ किलो चाँदी, आधा किलो सुन र लोड गरिएका दुईवटा पेस्तोल कमलादीबाट पछ्याउँदै आएका प्रहरीतर्फ फ्याँकेर तस्कर फरार’ ।
१३ साउन एकाबिहानै पत्रकार सम्मेलनमार्फत सार्वजनिक प्रहरीको बहादुरीपूर्ण गाथा क्षणभर टिकेन, जब घटनामा प्रहरीकै मिलेमतोकोे तथ्य बाहिरियो ।

लगत्तै प्रहरी जवानद्वय बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठ पक्राउ परे । अनुसन्धानपछि खुल्यो– उनीहरू घटनामा ‘डबल इन्फरमर’को भूमिकामा थिए । घटनामा संलग्न अभियुक्त महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत थिए । सुन्धाराबाट बरामद नक्कली सुन प्रकरणमा दुई प्रहरी जवान निलम्बनमा परे र अनुसन्धानपछि उनीहरू थुनामा छन् । तर, उनीहरूलाई प्रत्यक्ष कमान्ड गर्ने प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी रञ्जन दाहालविरुद्ध विभागीय सरुवाबाहेक केही भएन । उनलाई महाराजगन्ज तालिम केन्द्र पठाइयो ।

पछि घटनाका मुख्य योजनाकार बारा परवानीपुरका ३८ वर्षीय इल्ताफ हुसेन पक्राउ परे । पक्राउ परेका हुसेन तिनै व्यक्ति थिए, जसमाथि नक्कली भारतीय रुपैयाँ कारोबारमा कैदजीवन बिताइरहेका युनुश अन्सारीदेखि अन्तर्राष्ट्रिय डन दाउद इब्राहिमसम्मको सम्पर्कमा रहेर तस्कर धन्दा चलाउँदै आएको आरोप छ ।

हवल्दारद्वय कारागारमा,एसएसपीलाई कारबाही भएन

गत ७ असारमा हुन्डी कारोबारमा संलग्न भनिएका विकास अग्रवालले न्युरोडस्थित समृद्धि ऋण तथा सहकारीबाट १० लाख रुपैयाँ झिके । सहकारीमा कार्यरत रेणु श्रेष्ठ र सौरव अधिकारीमार्फत रकम झिकेको सूचना प्रहरी हवल्दारद्वय विक्रम चन्द र धीरेन्द्र विष्टले पाए ।

प्रहरी हवल्दारद्वय न्युरोडमा पुगेर अग्रवालको प्रतीक्षामा बसे । अग्रवाल सडक पार गर्दै थिए । रकम लिएर हवल्दारद्वय फरार भए । १० असारमा पक्राउ परेका विक्रम र धीरेन्द्र अहिले पुर्पक्षका लागि कारागार छन् ।
तर, विनाअनुसन्धान छाडिएका हुन्डी कारोबारी अग्रवाल भने अहिले फरार छन् । फरार अग्रवाल त्यही व्यक्ति हुन्, जसको सीधा उठबस इल्ताफसँग हुने गर्छ । अग्रवालकै सहयोगमा इल्ताफका एजेन्टले सुन्धाराबाट बरामद १४ किलो चाँदीमा सुनको जलप लगाएका थिए । अग्रवाल लुट घटनामा संलग्नमध्ये विष्ट त परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीकै अंगरक्षक र चन्द परिसरका घुमुवा थिए । विष्ट र घुमुवा चन्दका कमान्डर एसएसपी ज्ञवालीविरुद्ध कुनै कारबाही भएन ।

असइ र प्रहरी जवानद्वयमाथि कारबाही, डिएसपीलाई उन्मुक्ति

९ चैतमा मकवानपुर कैलाखस गाउँपालिका– ५ चौकीटार गोगनेकी ५० वर्षीया धनलक्ष्मी गुरुङको १२।२६ ग्राम हिरा लुटियो । घटना सम्बन्धमा प्रहरीले तुरुन्तै अनुसन्धान थाल्यो । नभन्दै लुटमा संलग्न चार भाइ थाहा नगरपालिकाबाट पक्राउ परे । अनुसन्धानपछि खुल्यो, पक्राउ पर्ने अरू नभएर महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत असइ सरेन्द्र बसेल, प्रहरी जवानद्वय वीरबहादुर बस्नेत र हिमकान्त पुनमगर थिए ।

पक्राउ पर्ने अर्का भने पत्रकार सुजन आचार्य थिए । उनीहरू हिरा लुट्नै भनेर काठमाडौंबाट प्रदेश–३–०१–०१–००२२ नम्बरको गाडी चढेर मकवानपुर पुगेका थिए । हिरा लुट घटनामा पनि डिएसपी रञ्जन दाहालमातहतकै प्रहरी संलग्न थिए । त्यसवेला पनि दाहालविरुद्ध कुनै कारबाही भएन । जब कि असइ बसेल, प्रहरी जवानद्वय बस्नेत र पुनमगर विभागीय कारबाहीस्वरूप निलम्बनमा परे ।

तीन जघन्य अपराधका घटनास्थल फरक छन् र अभियुक्त पनि फरक नै । तर, तीनै घटनामा संलग्न अभियुक्त प्रहरी छन् । जो महानगरीय प्रहरी परिसर काठमाडौंमातहत कार्यरत थिए । यसमा अर्को एउटा समानता छ– जुनियर कारबाहीमा परेका छन् र सिनियर उम्किएका छन् । त्यसो त नेपाल प्रहरीको तथ्यांकमा देशभरमै माथिल्लो दर्जाका प्रहरीविरुद्ध कारबाहीका उदाहरण कम छन् ।

तर, नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायत अपराधमा संलग्न जो–कोहीविरुद्ध पनि संगठनले कारबाही गरेको बताउँछन् । उनी भन्छन्, ‘अपराधमा संलग्न व्यक्ति कुन दर्जाका हुन् भनेर हेरिन्न । अपराधको भोल्युम कस्तो भन्ने कुरा संगठनले हेर्छ र सोहीअनुसार कारबाही गर्छ । नेपाल प्रहरीमा आइजिपीसमेत कारबाहीमा परेका छन् । त्यस आधारमा अन्य दर्जाका प्रहरी कर्मचारी उम्कने भन्ने त सवालै हुँदैन ।’

तर, तथ्यांकले अर्कै भन्छ । तीन वर्षको तथ्यांक हेर्दा प्रहरी निरीक्षकभन्दा माथिल्लो दर्जाका जम्मा एक सय १२ जना मात्रै कारबाहीमा परेका छन् । जसमध्ये प्रहरी निरीक्षक ८१, डिएसपी १७, एसपी आठ र एसएसपी ६ छन् । यस अवधिमा डिआइजी र एआइजीविरुद्ध भने कारबाही भएको छैन ।

केन्द्रीय तथ्यांकअनुसार तीन वर्षको अवधिमा अधिकृतभन्दा तल्लो तहका ६ हजार ७१ प्रहरी कर्मचारीविरुद्ध कारबाही भएको छ । कारबाही पर्नेमा सबैभन्दा बढी जवान छन् । यस अवधिमा चार हजार एक सय ३५ जवानविरुद्ध कारबाही भएको छ । कारबाहीमा पर्नेमा त्यसपछि हवल्दारको संख्या धेरै छ । यस अवधिमा एक हजार एक सय ९९ हवल्दार कारबाहीमा परेका छन् । त्यस्तै, चार सय ६५ असइ र दुई सय ७२ सइ कारबाहीमा परेका छन् ।

तर, प्रहरी प्रवक्ता एसएसपी कडायत संगठनमा रहेको कुल संख्यामध्ये ८० प्रतिशत जवान र हवल्दारको संख्या भएका कारण कारबाहीको संख्या धेरै देखिएको बताउँछन् । ‘नेपाल प्रहरीमा सबैभन्दा धेरै जवान र हवल्दारको संख्या छ । त्यसपछि जुनियर अधिकृतहरूको हो । यस आधारमा कारबाहीको दर सोही दर्जाका कर्मचारीमा धेरै देखिनु स्वाभाविक हो । अधिकृतको संख्या कम छ । सोही कारण कारबाहीको दर सिपाही, हवल्दारको तुलनामा कम देखिन्छ,’ उनकाे भनाइ उद्धृत गर्दै नयाँ पत्रिका दैनिकले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *