चीनमा एक महिनाअगाडि नै कोरोनाविरुद्धको खोप लगाउन सुरु

काठमाडौँ । चीनले महिनादिन अगाडिबाटै कोरोना भाइरस (कोभिड–१९) विरोद्ध आफ्ना नागरिकलाई खोप लगाउन थालिएको दाबी गरेको छ ।

चीनको कोभिड(१९ भ्याक्सिन डेभलपमेन्ट टास्क फोर्सका प्रमुखसमेत रहेका राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी चङ्ग चोङ्गवेइले आपतकालीन प्रयोगका लागि खोप लगाउन सुरु गरिएको जानकारी दिएका हुन् । चिनियाँ भ्याक्सिन म्यानेजमेन्ट कानुनको समन्वयमा शनिबार बेइजिङको घरेलु कम्पनीबाट खोप लगाउन थालिएको उनले बताए ।

फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, महामारी नियन्त्रक, भन्सार कर्मचारीजस्ता कोरोनाको उच्च जोखिममा रहेका मानिसमा खोप प्रयोग गर्न कानुनी अनुमति प्राप्त भएको छ, शनिबार राति चिनियाँ केन्द्रीय टेलिभिजन (सीसीटीभी) मा बोल्दै चङ्गले भने ।

आपतकालीन प्रयोगका लागि दिएको आवेदनअनुसार चीनको केन्द्र सरकारले व्यापक छलफल र अध्ययनपछि जुन २४ मा योजनालाई अनुमोदन गर्दै अगस्ट २२ तारिखदेखि खोप लगाउन अनुमति दिएको पनि उनले बताए ।

यस्तै चाइना नेसनल बायोटेक ग्रुपका प्रमुख याङ स्याउमिङले कम्पनीले खोपको तेश्रो चरण परीक्षणका लागि थुप्रै मुलुकसँग सम्झौता गरिसकिएको र अहिलेसम्म झन्डै २० हजार मानिसमा परीक्षण भइसकेको बताएका छन् । ‘खोप सुरक्षाका हिसाबले ग्यारेन्टी गर्न योग्य छ तर यसको प्रभावकारिताबारे गम्भीर अध्ययन भइरहेको छ,’ उनले भने।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले केही दिनअघि दिएको जानकारीअनुसार विश्वमा कोरोनाविरुद्ध विकास भएका खोपमध्ये अहिलेसम्म ६ वटा तेस्रो चरणको परीक्षण तहमा पुगेका छन् भने तीमध्ये ३ वटा खोप चीनले बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *