काभ्रेमा एकैदिन ३५ स्वास्थ्यकर्मी संक्रमित

बनेपा । बनेपा नगरपालिका­१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अर्को सूचना जारी नभएसम्मको लागि स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपासको टोलभित्र आवतजावतमा रोक लगाएको वडा नं १३ का वडाध्यक्ष सूर्यनारायण नापितले जानकारी दिए ।

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार शनिबार एकैदिन जिल्लामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । उनका अनुसार स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैंसेपाटीमा कार्यरत कर्मचारी २३ जना र धुलिखेल अस्पतालमा कार्यरत १२ जना कर्मचारीमा गरी ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरुको सम्बन्धित अस्पतालमा नै उपचार भइरहेको डा झाले बताए ।

एकैदिन यतिधेरै सङ्ख्यामा सङ्क्रमण देखिएको जिल्लामा यो पहिलो पटक हो । सो सङ्ख्यासहित गरी काभ्रेपलाञ्चोक जिल्लामा सङ्क्रमितको सङ्ख्या १ सय ३९ पुगेको छ । यसमध्ये ४३ जना निको भएर घर फर्किसकेका जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *