काठमाडौँ । १ सय ८२ जना महिला तथा ४ सय ५२ जना पुरुष गरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ६ सय ३४ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १२ हजार ५ सय १९ पिसिआर परीक्षण गर्दा ६ सय ३४ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । याे सँगै नेपालमा संक्रमित हुनेकाे संख्या ३१ हजार ११७ पुगेकाे छ ।
यस्तै २४ घण्टामा १ सय ३६ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमणमुक्त हुनेकाे दर ५९ प्रतिशत छ।
काठमाडाैँमा २१६ संक्रमित थपिए
काठमाडौं उपत्यकामा आज २ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १ सय ६० जना, ललितपुरका ६ जना र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो ।
केही दिनयता काठमाडौंमा उपत्यकामा दैनिक सयभन्दा बढी संक्रमित थपिइरहेका छन् । हिजो शुक्रबार काठमाडौंका १ सय ४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५ जना गरी १ सय ८२ जनामा संक्रमण पुष्टि भएको थियो ।
नाै जनाकाे मृत्यु
कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुरका रहेको डा गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय ४६ पुगेको छ ।
