काठमाडौँ । कोरोना महामारीले मानव समुदायलाई अत्याईरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशकले यो भाइरस नियन्त्रणमा आउन अझै दुई वर्षको समय लाग्न सक्ने आशय व्यक्त गरेका छन् ।
महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले शुक्रबार जेनेभामा बिगतका महामारीको उदाहरण दिँदै भनेका छन्– ‘सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको थियो, कोरोना भाइरस नियन्त्रणमा आउनेमा पनि यस्तै आशा गर्न सकिन्छ ।’
महानिर्देशकको आशा छ, अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने छ । उनले ‘पक्कै पनि भाइरस थप फैलिने सम्भावना छ, हामीसँग प्रविधि छ, जसले भाइरसको संक्रमणलाई रोक्न पनि सकिन्छ’ भनेका छन् । कोरोना भाइरस विरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता तथा विश्वव्यापी सहकार्य अत्यावश्यक रहेकोमा उनले जोड दिएका छन् ।
