कोरोना बीमा गर्नेको सङ्ख्या सात लाख नाघ्यो

काठमाडौ। पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ ।
सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको सङ्ख्या साढे सात लाख पुगेको छ । बीमा समितिका अनुसार कोरोना बीमाबाट ४२ करोड प्रिमियम सङ्कलन भएको छ भने दाबीका लागि आउनेको सङ्ख्या पनि २६० भन्दा माथि लागेको छ ।

सुरुवातमा खासै आकर्षण नदेखिएको कारोना बीमा पछिल्लो समय लोकप्रिय बनिरहेको भन्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भन्नुभयो, “यसले सर्वसाधारणमा बीमा गर्नुपर्छ भन्ने सन्देश पनि गएको छ । ” वैशाख ७ देखि सुरु भएको कोरोना बीमा कार्यक्रमले सुरुवातमा खासै उचाइ लिन नसके पनि चार महिनाको अवधिमा सङ्ख्या उल्लेख्य बढेको हो । त्यसो त दुई÷चार वर्षको अवधिमा बीमा व्यवसायले नै फड्को मारेको छ ।
समितिको असार महिनाको तथ्याङ्क अनुसार वैदेशिक रोजगारसहित २७ प्रतिशत जनतामा बीमा पुगेको छ । कोरोना बीमाले गाउँगाउँसम्म एउटा लहर पनि ल्याएको समितिले जनाएको छ ।

आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ पनि कोरोना बीमा कार्यक्रमले मान्छेको जीवनमा बीमा पनि अभिन्न अङ्ग हो भन्ने कुरा बुझाउन मद्दत गरेको बताउनुहुन्छ । कोरोना महामारीले बीमाको महवलाई बुझाएको भन्दै उहाँले सर्वसाधारणको आकर्षण पनि उल्लेख्य बढेको बताउनुभयो ।

बीमा दाबीका लागि बीमालेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएमा बीमालेख बमोजिमको कम्पनीले दाबी भुक्तानी गर्ने उहाँले बताउनुभयो ।

बीमा कम्पनीले दाबी निवेदन पेस गरेको सात दिनभित्र बीमितलाई भुक्तानी दिनुपर्ने कोरोना बीमा कार्यविधिमा व्यवस्था गरिएको भन्दै समितिका कार्यकारी निर्देशक पौडेलले भन्नुभयो, “दाबी भुक्तानी नहुँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानुनी हकवालालाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ । ”

कति लाग्छ कोरोना बीमा गर्न
कोरोना बीमा कार्यविधि अनुसार कोरोना बीमाअन्तर्गत एक लाख र ५० हजार रुपियाँ गरी दुई प्रकारको बीमाङ्क तोकिएको छ । एक लाख रुपियाँको प्रतिव्यक्ति एक हजार र ५० हजारको प्रतिव्यक्ति पाँच सय रुपियाँ बीमा शुल्क रहेको छ । यदि परिवारको सम्पूर्ण सदस्यको बीमा गर्नुपरेमा एक लाख रुपियाँका लागि छ सय र ५० हजार रुपियाँको लागि तीन सय रुपियाँ शुल्क लाग्छ । बीमा गर्दा कुनै पनि नेपाली नागरिक भारतलगायत तेस्रो मुलुकबाट आएको भएमा १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइन र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात चाहिने व्यवस्था छ ।

कोरोना बीमा गरेको १५ दिनपश्चात् कोरोना देखिएमा मात्रै दाबी भुक्तानी गर्न सकिने समितिले जनाएको छ । दाबी गरेको सात दिनभित्र बीमा कम्पनीले दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । दाबी भुक्तानीका लागि पीसीआर रिपोर्ट पोजेटिभ आएको र बीमा गर्दाको कागजात सम्बन्धित कम्पनीमा पेस गर्नुपर्ने समाचार आजको गोरखापत्रले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *