तनहूँ । डिभिजन वन कार्यालय तनहूँले स्थापना गरेको नर्सरी दुई वर्षदेखि गण्डकी प्रदेशकै नमूना र उत्कृष्ट बन्न सफल भएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका निकायको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगति समिक्षाको आधारमा तनहूँको नर्सरी प्रदेशमै उत्कृष्ट भएको हो । प्रदेशका ११ जिल्लामध्ये वन कार्यालय तनहूँले बनाएको नर्सरी व्यवस्थापनमा राम्रो, गुणस्तर उत्पादन र धेरै परिमाणमा बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्न सफल भएको भन्दै गत वर्ष पनि उत्कृष्ट भएको थियो ।
कार्यालयले आर्थिक वर्ष ०७६/०७७ मा आठ लाख ८८ हजार बिरुवा उत्पादन गरेको थियो । उत्पादितमध्ये जिल्लाभित्र तीन लाख ८४ हजार नौ सय र जिल्ला बाहिर ३४ हजार एकसय बिरुवा वितरण गरेको डिभिजन वन कार्यालय तनहूँका प्रमुख केदार बरालले जानकारी दिएका छन् । उनले भने, “पुरस्कृत भएपछि हौसला मिलेको छ ।”
कार्यालयले कागती, अम्बा, आँप, लिची, चाँप, रुद्राक्ष, नारेश्वर, तेजपात, बेल, कुरिलो, कल्कीफूल, पीपल, सुगन्धकोकिला, रुख कटहर, ज्याकराण्डा, श्रीखण्ड, गुलाब, जामुना, गुलमोहर लप्सी, अम्बा, टाँकी, अमला, ड्रागन फ्रुट, बडहर, सिसौ, अशोक, बकाइनो, खयर, मेगोस्टीन चिउरी, टिकलगायतका बिरुवा उत्पदान गरी वितरण गरेको थियो । कार्यालयले जिल्लाका विभिन्न सामुदायिक तथा निजी वनमा वृक्षरोपणका लागि बिरुवा वितरण गर्ने गरेको छ । जिल्लालाई तेजपातको पकेट क्षेत्र बनाउने उद्देश्यले सोही अनुरुप किसानलाई तेजपातको बिरुवा बितरण गरिएको सो कार्यालयले जनाएको छ । जिल्लाभर ६१७ सामुदायिक ४८५ कबुलियती वन रहेको छ ।
