काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा रहेका अस्पताल र मेडिकल कलेजहरूमा कम्तिमा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन् ।
सरकारले गृहसचिव संयोजक, गृह सहसचिव सदस्यसचिव रहने गरी एकीकृत क्वारेन्टिन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारी, संघीय मामिला मन्त्रालयका सह–सचिव, भवन विभागमा महानिर्देशक, उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका उपत्यका हेर्ने पदाधिकारीहरु, क्वारेन्टिन रहने स्थानका जनप्रतिनिधिहरु लगायत सदस्य रहनेछन् ।
यस्तै बैठकले अन्तर जिल्ला आवागमन र सीमा क्षेत्रमा आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको छ । स्वास्थ्य प्रोटोकलहरूको अनिवार्य रूपमा पालना गर्ने र गराउनेसमेत निर्णय भएको उल्लेख गर्दै प्रवक्ता डा खतिवडाले मापदण्ड र प्रोटोकल पालना नगर्नेलाई प्रचलित कानूनअनुसार कारबाही गरिनेसमेत जानकारी दिए ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिको खर्च सरकारले व्यहोर्ने
सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिमा लागेको सम्पूर्ण खर्च व्यहोर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले घिमिरेको मृत्युप्रति शोक प्रकट गर्दै खर्च व्यहोर्ने निर्णय गरेको सरकारका डा. खतिवडाले जानकारी दिए ।
पहिराेमा परेर घाइते भएकाकाे सरकारले उपचार गर्ने
खतिवडाले बाढी पहिरोमा परेर हालसम्म २ सय ५० को मृत्यु भएको, ८४ बेपत्ता भएका, १ सय ५२ घाइते भएका र ३ सय ५१ घर भत्किएको जानकारी दिँदै घाइतेको उपचार सरकारले गर्ने निर्णय भएको बताए । सरकारले परिवारमा एक जनाको मृत्यु भएमा दुई लाख र परिवारमा एकभन्दा बढीको मृत्यु भएको भए प्रतिमृतक थप एक लाख उपलब्ध गराउने छ ।
त्यसैगरी आवास वा पसलमा क्षति पुगेको भए प्रति परिवार १५ हजार उपलब्ध गराउने सरकारले परिवारमा ५ भन्दा बढी रहेको अवस्थामा २० हजार उपलब्ध गराउने छ । घर पूर्ण क्षति भएको अवस्थामा प्रतिपरिवार एक लाख उपलब्ध गराउने, घाइतेको उपचारको साथै आउजाउका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
