काठमाडौँ । काठमाडौँस्थित चिनियाँ राजदूताबासले उपत्यकालगायत नेपालका विभिन्न ठाउँमा लागू गरिएको निषेधाज्ञाको ‘कडाइका साथ पालना गर्न’ नेपालमा रहेका उसका नागरिकलाई चिनियाँ भाषामा नै निर्देशन दिएको छ ।
नेपाल सरकारद्वारा लागू देशब्यापी लकडान जारी रहेकै बेला स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै निषेधित क्षेत्र सिंहदरवारमा प्रहरीसँग हातपातमै उत्रिने चिनियाँ नागरिककाे यसअघिकाे व्यवहारले झस्किएकाे चिनियाँ दूताबासले अग्रिमरूपमा सचेत गराउँदै उक्त निर्देशन दिएकाे हो ।
नेपाल सरकारले कोरोना भाइरसको महामारी रोक्न अस्थायी उपाय अपनाउने क्रममा काठमाडौँलगायतका क्षेत्रमा सप्ताहब्यापी निषेधाज्ञा जारी गरिएको भन्दै दूताबासले नेपालको नियम, कानून तथा निषेधाज्ञाको कडाइका साथ पालन गर्न उसका नागरिकलाई निर्देशन दिएको हो । अनावश्यकरुपमा बाहिर नगई घरभित्रै आफूलाई सुरक्षित र स्वस्थ राख्न पनि उसले आग्रह गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति तथा चीनको राज्य परिषद्ले विदेशमा रहेका चिनियाँ नागरिकको स्वास्थ्य र सुरक्षा अवस्थाको बारेमा गम्भीर चासो राखेको उल्लेख गर्दै नेपालमा रहेका चिनियाँहरुको समस्या समाधान गर्न दूताबासले प्रयास गर्दै आइरहेको बताएको छ । नेपालमा समस्यामा परेका चिनियाँहरुलाई गाँस र बासको प्रवन्ध मिलाइएको, भीसाका लागि अध्यगम विभागसँगका समन्वय गरिएकाे र औषधिलगायतका सामग्री वितरण गरिएको उल्लेख गर्दै दूताबासले नेपालमा अलपत्र परेका एक हजारभन्दा बढीलाई चीन फर्काइ सकिएको जनाएको छ ।
कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चालेका प्रयास र कदमहरुमा सहयोग र समर्थन गर्दै चिनियाँहरुको ‘छबि’ बचाइ राख्न पनि दूताबासले आग्रह गरेको छ ।

