काठमाडौँ । रुसका विपक्षी नेता अलेक्सेइ नाभाल्नीलाई विष खुवाइएपछि अचेत भएका छन् । ४४ वार्षीय नाभाल्नीको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।
उनकी प्रवक्ता किरा यार्मिशका अनुसार साइबेरियाको टोम्स्कबाट विमानमा मस्को फर्कने क्रममा उनी अचेत भएका थिए । त्यसपछि विमानलाई साइबेरियाकै ओम्स्क शहरमा आपतकालीन अवतरण गराएर उनलाई अस्पताल भर्ना गरिएको अलजजिराले जनाएको छ ।
यार्मिशले ट्विट गर्दै नाभाल्नीलाई विष खुवाइएको जनाएकी छिन् । उनका अनुसार साइबेरियाबाट मस्कोका लागि प्रस्थान गर्नुअघि उनले चिया मात्र पिएका थिए । चियामा नै केही मिसाइएको हुनसक्ने उनले आशंका गरेकी छिन् ।
यात्राका क्रममा यार्मिश पनि विमानमा नाभाल्नीसँगै थिइन् । त्यति बेला नाभाल्नीलाई अन्यधिक पसिना आइरहेको थियो । यामिशका अनुसार उनले ध्यान अन्त मोडिने भन्दै आफूसँग कुरा गरिरहन आग्रह गरेका थिए ।
त्यसपछि उनी उठेर बाथरुम गए । उनी त्यहीँ अचेत भएका थिए । उनको ओम्स्कस्थित अस्पतालमा उपचार भइरहेको तास न्युज एजेन्सीले जनाएको छ ।
उनी अझै अचेत रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको यार्मिशले जनाएकी छिन् । “हाम्रो आग्रहमा प्रहरीलाई बोलाइएको छ”, उनले भनेकी छिन् ।
नाभाल्नीले रुसमा भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गरिरहेका छन् । उनी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक हुन् ।
नाभिल्नीमाथि यसअघि पनि आक्रमण हुँदै आएको थियो । सन् २०१७ मा पनि उनको आँखामा केमिकल हानिएको थियो ।
त्यस्तै गत वर्ष थुनामा रहेका उनलाई अचानक अस्पताल भर्ना गरिएको थियो । त्यति बेला पनि उनलाई विष खुवाइएको अनुमान उनका समर्थकको थियो । पछि चिकित्सकले उनलाई गम्भीर प्रकारको एलर्जी भएको भन्दै थुनामै फिर्ता पठाएका थिए ।