काठमाडौँ । निर्वाचन आयोगले नेकपा एमाले दल दर्ता गर्ने निर्णय गरेको छ । नेकपा एमालेले आयोगमा नेपालको १३१ औँ दलको मान्यता पाएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार झापाकी सन्ध्या तिवारीको अध्यक्षमा दल दर्ताका लागि परेको निवेदनमा आवश्यक जाँबुझ गरेर नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरिएको हो । दलको घोषणापत्र, विधान, दल गठनका लागि केन्द्रीय समितिको निर्णय र पाँच सय जनाभन्दा बढी मतदाताको हस्ताक्षर प्रमाणित गरेपछि आयोगको बैठकले एमालेलाई दर्ता गरेको हो ।
आयोगले दलको मागअनुसार उदाउँदो सूर्य चुनाव चिन्ह दिएको छ । केही दिनभित्रै दलका प्रतिनिधिलाई आयोगमा नै बोलाएर प्रमाणपत्र दिने तयारी गरिएको छ ।