धादिङ। मुलुककै सबै भन्दा ठुलो उद्योगको रुपमा स्थापनाको चरणमा रहेको ह्वासिन सिमेन्ट उद्योगमा कार्यरत चिनियाँ मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । बेनिघाट रोराङ गाउँपालिका २ ताल्तीमा निर्माण भइरहेको उक्त उद्योगमा कार्यरत १ सय ८५ जना चिनियाँ मजदुरहरुले आफूहरुको सुरक्षा नभएको भन्दै स्वदेश फर्काइदिन माग गर्दै आन्दोलनमा उत्रिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
केही दिनयता नेपालमा कोरोना संक्रमणले तीव्रता लिएपछि त्यहाँ कार्यरत चिनियाँ मजदुरहरुले स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । नेपालमा कोरोना संक्रमणबाट संक्रमित र मृतकको संख्या बढेकाे भन्दै उनीहरु आन्दोलनमा उत्रिएको बताइएको छ ।
उद्योग प्रशासनले भने काम नछोड्न चिनियाँ मजदुरहरुलाई चेतावनी दिएपछि उनीहरु अहिले आन्दोलनमा उत्रिएको बताइएको छ । इलाका प्रहरी कार्यालय गजुरीले प्रहरी निरीक्षकको कमाण्डमा एउटा टोली उद्योग परिसरमा परिचालन गरेको छ ।
नेपाल र चीन सरकारबीच सम्झौता भई चिनियाँ र नेपालीको संयुक्त लगानीमा निर्माण हुन लागेको ह्वासिन नारायणी सिमेण्ट उद्योग १५ अर्ब लगानीमा निर्माण सुरु भएको हो ।
