एउटै सिमकार्ड झण्डै चार करोडमा लिलाम

काठमाडौँ । चीनको राजधानी बेइजिङमा एउटा मोबाइलको सीमकार्ड करिब चार करोड रुपियाँमा लिलाम भएको छ । अन्तिमका पाँच वटा अंक ८ भएका कारण उक्त सीमकार्ड २२ लाख ५० हजार चिनियाँ युवान ( करिब ३ करोड ८९ लाख रुपियाँ) मा लिलामी गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

चीनमा अंक ८ लाई “पा” भनिन्छ । “पा”को अर्थ समृद्धि पनि हुन्छ । यही समृद्धि जस्तै सुनिने शब्द भएकाले चीनमा आठ अंकका सबै बस्तु बहुमूल्य मान्ने परम्परा छ । आठ नम्बरको घर, फ्ल्याट, गाडीको नम्बर प्लेट, सीमकार्ड आदिको मूल्य सामान्य बजार भाउकाे तुलनात्मकरुपमा केयौँ गुणा बढी हुन्छ । विवाहलगायतका शुभकार्यका लागि ८ तारिखको दिनलाई उपयुक्त मानिन्छ ।

उक्त परम्परालाई चीन सरकारले पनि उच्च महत्त्व दिने गरेको छ । चीनले आयोजना गरेको ओलम्पिक खेलकुदको उद्घाटन पनि २००८ सालको आठौँ महिना (अगस्ट) ८ तारिख बेलुकी ८ बजेर ८ मिनेटमा गरिएको थियो । लक्की नम्बर ८ ले ग्राहक र व्यवसायिक साझेदारलाई आकर्षित गर्ने मान्यताअनुसार व्यापारिक घरानाले सकेसम्म धेरै ८ अंक भएका सीमकार्ड र टेलिफोन नम्बर हात पार्न ठूलो रकम खर्चिने गरेका छन् ।

एक मुद्दामा सरकारले जफत गरेको सम्पत्तिहरुमध्ये उक्त सीमकार्ड पनि एक थियो । बेइजिङ अदालतले उक्त सीमकार्ड लिलामीका लागि अनलाइनमा बेलपत्र अह्वान गरेको थियो । शनिबार र आईतबार दुई दिनका लागि राखिएको लिलामीमा करिब पाँच हजार जनाले भाग लिएका थिए ।

सीमकार्ड हात पार्न सफल एक चिनियाँले सीमकार्डको लागि चार सय युवान धरौटी बुझाएका छन् । चिनियाँमा “स” भनिने अंक चारको आवाज “मर्नु”सँग ठ्याक्कै मिल्छ । उनले बाजी मारेको वा सीमकार्डको मूल्य बढाबढको क्रम अन्त्य भएको संकेतिक अर्थ दिने गरी चार सय चिनियाँ युवान धरौटी बुझाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *