ओली–प्रचण्डले गरे देउवासँग छलफल, कांग्रेसले गरायाे तीन बुँदामा ध्यानाकर्षण

काठमाडौँ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संवैधानिक निकायहरुमा नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउनेलगायतका विषयबारे छलफल भएको बताइएको छ ।

संवैधानिक परिषद्को सदस्य रहने प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवासँग कांग्रेस नेता रमेश लेखक सहभागी थिए भने नेकपाबाट दुई अध्यक्षसँगै नेकपा संसदीय दलको उपनेता सुवास नेम्वाङ सहभागी थिए । छलफलमा सहभागी कांग्रेस नेता रमेश लेखकले सरकारले संवैधानिक परिषद्को बैठकबारे छलफल गर्न भनी बोलाएको बैठकमा आफूहरुले कोभिड–१९ र बाढी पहिरोको विषयमा पनि ध्यानाकर्षण गराएको बताए ।

“कोरोना महामारीमा सरकारले जति गर्नुपर्थ्यो त्यति गरेन, बाढी पहिरोमा पनि जति सचेतना अपनाउनु पर्थ्यो त्यति गरेको देखिएन,” नेता लेखकले भने, “त्यसप्रति हामीले सरकारलाई गम्भीर हुन भनेको छौं ।” प्रधानमन्त्रीले संवैधानिक परिषद्बारे छलफल गर्न प्रस्ताव गरेकोमा आफूहरु त्यसमा तयार रहेको पनि नेता लेखकले जानकारी दिए ।

भेटमा संवैधानिक नियुक्तिहरु बारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापति देउवासँग परामर्श गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति देउवाले भेटघाटको शुरुमै जरुरी महत्वका तीन विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । पौडेलका अनुसार सभापति देउवाले भेटघाटको शुरुमै जरुरी महत्वका ३ बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

देउवाका तीन बुँदे

१, सिन्धुपाल्चोकको जुगल गापाको लिदिमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कयौं बेपत्ता छन् । गाउँबासीले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपु-याउनु अत्यन्तै दुःखद भएको छ ।  यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?

देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको छ । सरकारको भुमिका सन्तोषजनक देखिएन । ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु ।

२, कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ, संक्रमण तीब्र गतिमा बिस्तार भएको छ । बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ देखिएन । कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न किन ढिलाइ ?

३, त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी छ ।  निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पुर्वाग्रह बढी देखियो । प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, किर्तिपुर देखि ठाकुरराम क्याम्पस सम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिन देखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन । अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न म प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *