विदेशमा अलपत्र नेपालीका लागि सोमबारदेखि पाँचौं चरणको उद्धार उडान हुने

काठमाडौँ । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता गराउन पाँचौं चरणको उद्धार उडान आगामी सोमबारदेखि गराउने भएको छ । यस्तो उडानका लागि नेपाल वायुसेवा निगमले १६ दिनभित्रका लागि १७ वटा उडान अनुमति पाएको छ ।

१ भदौदेखि नियमित उडान गर्ने भनिए पनि कोरोनाभाइसरको संक्रमण बढ्दै गएका कारण सरकारले १६ भदौदेखि मात्रै नियमित उडान खुला गर्ने निर्णय गरेको छ । सो अवधिसम्म सरकारले निगमलाई ३ र १४ गते दैनिक २ उडान र अरु दिन दैनिक १ वटा उडानको अनुमति दिएको निगमले जानकारी दिएको छ । निगमले गर्ने उद्धार उडानमा १६ दिनको अवधिमा यूएईको दुबई, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, साउदी अरबको दमाम, कुवेत, साउदीकै जेद्दा, रियाद र जापानको नारिता उडान गर्ने भएको छ । तालिकाअनुसार निगमले एकैदिन दुईवटा उडान हुनेबाहेक हरेक दिने काठमाडौंबाट अघिल्लो दिन जाने र भोलिपल्ट फर्कने तालिका बनाएको छ । सो अवधिसम्म दैनिक ५ सय जनासम्मको मात्रै उद्धार उडान गर्ने सरकारले निर्णय गरेको छ।

सरकारले ३२ असारदेखि विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार उडान शुरु गरेको थियो । यस्तो उडानबाट आजसम्म ५८ देशबाट ५० हजार २ सय ६२ जनाको उद्धार उडान भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।

सरकारले अब भने दैनिक ५ सय जनासम्म मात्रै उद्धार उडान गर्ने निर्णय गरेको अर्थ तथा सूचना तथा सञ्चार मन्त्री डा युवराज खतिवडाले २७ साउनमा सार्वजनिक गरेको मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ । नेपाल सरकारको उक्त निर्णय अनुसार, अनुमति भएका व्यक्तिलाई नेपाली कूटनीतिक नियोगको सिफारिशमा ३ सय जना र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी २ सय जना गरी कुल ५ सय जना नबढ्ने गरी उद्धार उडान गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *