सिन्धुपाल्चाेक । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका ११ जनाको शव फेला परेको छ ।
पहिरामा परेकामध्ये अझै २७ जना बेपत्ता छन् । पहिराले कम्तिमा ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
पहिरामा पुरिएका ११ शव निकालिएको सिन्धुपाल्चोक प्रहरी प्रमुख माधवप्रसाद एसपी काफ्लेले जानकारी दिए । घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए ।
फेला परेका शव सनाखत हुन सकेका छैनन् । शव नचिनिने अवस्थामा रहेका कारण सनाखत हुन गाह्रो भएको सिन्धुपाल्चोक प्रहरी जानकारी दिएकाे छ । ‘ शव चिन्न सकिने अवस्थामा छैनन् । स्थानीयको सहयोगले शवको पहिचान गर्ने काम भइरहेको छ। बेपत्ताको पनि खोजि भइरहेको छ’, एसपी काफ्लेले भने । शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिरहेका छन् ।
शुक्रबार सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री रामबहादुर थापा बादल घटनास्थल पुगेर स्थलगत निरिक्षण गरेका छन् । गृहमन्त्री थापा राहत सामग्री लिएर पुगेका थिए । उनले खाद्यान्न, लत्ताकपडा र २ लाख रुपैयाँ स्थानीय जनप्रतिनिधीलाई उपलब्ध गराएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।
