सिन्धुपाल्चोकका बाढी पीडितलाई चीनको राहत सामग्री

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनले सहयोग गर्ने भएको छ । चीनको तिब्बत, न्यालम काउन्टीले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट र पाल दुईदुई सय थान तथा कम्बल पाँच सय थान दिने भएको हो ।

सिन्धुपाल्चोक जिल्लालाई करोडौँको स्वास्थ्य सामग्री सहयोग गरेको भोलिपल्टै न्यालम काउन्टीले त्यहाँका बाढी पीडितलाई लक्षित गरी राहत सामग्री उपलब्ध गराउने बताएको हो । सो सहयोग सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका बाढीपहिरा पीडितलाई दिइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनकै विशेष पहलमा सो सामग्री दिन लागिएको हो ।

भोटेकोशी र बाह्रबीसेमा बाढीपहिराबाट बाटो अवरुद्ध भएपछि केही हप्ता पहिले न्यालमका समकक्षीसँग ढकालले सहयोग गरिदिन अनुरोध गरेका थिए । केही दिनमा ती सामग्री आउने चिनियाँ पक्षबाट थाहा भएको छ । यी खाद्यलगायतका राहत सामग्रीले बाढीपहिराबाट विस्थापित परिवारको जीवनयापनमा सहयोग पुग्ने ढकालको विश्वास छ । न्यालम काउन्टीले सिन्धुपाल्चोकका लागि यसअघि पनि विभिन्न सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *