काठमाडौँ । काठमाडौंको बल्खुबाट सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव हेटौंडामा फेला परेको छ ।
प्रहरीको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार बिहान मकवानपुरकाे सिस्नेरीस्थित माण्डाे जलविद्युत परियाेजना क्षेत्रमा उनको शव भेटेपछि पोष्टमार्टमका लागि उनको शव जिल्ला अस्पताल हेटौंडामा पुर्याइएको छ ।
उनी तीन दिनदेखि बेपत्ता भएको भन्दै कान्तिपुर दैनिकका तर्फबाट उजुरी परेको थियाे । बानियाँकाे परिवारका सदस्यले अपराध महाशाखालाई पनि हराएकोबारे जानकारी दिएका थिए ।
दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकसँग सम्बद्ध तनहुँका पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउने कुशल पत्रकार मानिन्छन् । उनले केही समय नागरिक दैनिकमा पनि काम गरेका थिए ।
कान्तिपुरमा सहायक-सम्पादककाे रूपमा रहेका उनले नेपाल पत्रकार महासंघमा सचिवकाे रूपमा काम गरेका थिए । उनका श्रीमती, एक छाेरा र एक छाेरी छन् ।