भारतीय मुलकी कमलाले अमेरिककाको उपराष्ट्रपति पदमा उम्मेदवारी दिने

वासिंगटन । अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोय बाइडेनले भारतीय मुलकी कमला हारिसलाई उपराष्ट्रपति पदका लागि आफनो उम्मेदवार चयन गरेका छन् । उनको चयनले यदि बाइडेन राष्ट्रपति पदको चुनावमा विजयी बनेमा अमेरिकाको इतिहासमा कमला एसियाली मुलकै पहिलो उपराष्ट्रपति बन्ने छिन् ।

डेमोक्र्याटिक राष्ट्रपति पदका उम्मेदवार बाइडेनले मंगलबार ट्विट मार्फत उक्त जानकारी दिएका हुन् । कमला हारिसलाई आफ्नो उपराष्ट्रपति पदको उम्मेदवार चयन गर्न पाएकोमा आफुलाई गर्व लागेको उनल ट्विटमा लेखेका छन् । बाइडेनले उनलाई बहादुर योद्धा र अमेरिकाका सबैभन्दा उत्कृष्ट ब्युरोक्र्याट्सको संज्ञा दिए ।

कमला हरिस क्यालिफोर्नियाको न्यायधिवक्ता रहँदा आफुले उनले काम गरेको देखेको बाइडेनले बताए । उनले कसरी ठुलठुला बैंकहरुलाई चुनौती दिएकी थिइन, काम गर्नेहरुलाई मद्दत गरेकी थिइन र महिला तथा बच्चाहरुलाई शोषणबाट बचाएकी थिइन्, मैले आफैँले देखेको थिएँ । त्यतिबेला पनि आफूले गर्व गरेको र आज पनि उनी यस अभियानमा मेरो सहयोगी हुने भएकोले गर्व महसुस गरिरहेको बाइडेनले अर्को ट्विटमा उल्लेख गरेका छन् ।

क्यालिफोर्नियाकी सिनेटर कमला हारिसले एक समय जोय बाइडेनलाई राष्ट्रपति पदको उम्मेदवारका लागि चुनौती दिइरहेकी थिइन । यद्यपी राष्ट्रपति पदको दौडबाट बाहिर भएपछि पनि बाइडेनले उनलाई उपराष्ट्रपति पदका लागि आफनो साथीको रुपमा उम्मेदवार चयन गर्ने कुराको चर्चा भइरहेको थियो । अब बाइडेनले यसको घोषणा गरिसकेका छन् । उपराष्ट्रपति उम्मेदवार चयन भएकोमा हारिसले ट्विट गरी बाइडेनलाई धन्यवाद दिएकी छन् ।

कमला हारिसले आफ्नो ट्विटमा भनेकी छन्, बाइडेनले अमेरिकी जनतालाई एकजुट गर्न सक्छन् किनभने उनले हाम्रो लागि संघर्षमा आप्mनो पुरै जिन्दगी लगाएका छन् । राष्ट्रपतिका रुपमा उनले हाम्रो आदर्शमा खरो उत्रने अमेरिका दिनेछ । म आफ्नो पार्टीका तर्फबाट उपराष्ट्रपति उम्मेदवारको हैसियतले उनीसँग आबद्ध हुन पाएकोमा गर्व महसुस गर्दछु र उनलाई आफनो कमान्डर इन चीफ बनाउनका लागि जति गर्नपर्छ, म गर्न तयार छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *