काठमाडौँ । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरस्थित होटेल रामाका सञ्चालकसमेत रहेका पूर्व मेयर गिरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार राति १२ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
तीन सातादेखि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय गिरी पछिल्लो एक सातादेखि सघन उपचार कक्षको भेन्टिलेटरमा उपचार गराइरहेका थिए । जनकपुरधाममै रहेको अवस्थामा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हेलिकप्टर चार्टर गरी काठमाडौं ल्याइएको थियो । उनका छोरा डा. सन्तोष गिरीका अनुसार उनी मुटु सम्बन्धी रोगी, उच्च रक्तचापबाट पीडित थिए । उपचार गर्न अस्पताल भर्ना भएकै समयममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मेयर गिरीको परिवारजनले मृत्यु भएको पुष्टि गरेपनि अस्पतालले भने कोरोना संक्रमणबाट मृत्यु भएको छैन । मेयर गिरी २०४२ सालदेखि ४ बर्षसम्म जनकपुरको मेयर बनेका थिए ।
