सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा कोरोना भाइरसको रोकथाम, उपचार तथा व्यवस्थापनका लागि सरकारले सक्दो काम गरिरहेको बताएका छन । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री भट्टले सरकारले रोकथाममा गरेका प्रयासस्वरुप अहिलेसम्म प्रदेशमा कोरोना समुदाय तहसम्म फैलिन नपाएको बताए ।
अहिलेसम्म प्रदेशमा चार हजार ७८५ सङ्क्रमित भइसकेको जनाउँदै उनले भने, ‘‘कोरोना रोकथामका लागि सेती प्रादेशिक अस्पतालमा थप एक पिसिआर मेसिन सञ्चालनमा आइसकेको छ, डोटी र बैतडीमा एकएक मेसिन सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेकोले कोरोनाको जाँचमा कुनै समस्या हुँदैन ।‘‘
प्रतिपक्षीले कोरोनामा भएको खर्च विवरण सार्वजनिक गर्न माग गर्दै सदन अवरुद्ध गरेको तर्फ लक्ष्य गर्दै उनले भने, ‘कोरोना रोकथाम उपचार व्यवस्थापनमा अहिलेसम्म रु५०देखि५३करोड खर्च भएको छ ।‘
बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले ‘प्रदेश बालबालिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७६‘ माथि दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भनी पेश गरेको प्रस्ताव बैठकले स्वीकृत गरेको छ । यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्रीका तर्फबाट मन्त्री सुवेदीले ‘प्रदेश लोकसेवा आयोग ऐन२०७६लाई संशोधन गर्न बनेको विधेयक‘माथि दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई समेत बैठकले स्वीकृत गरेको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ लाई दफावार छलफलका लागि प्रदेश मामिला समितिमा पठाइयोस् भनी पेश गर्नु भएको प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ । यसअघि छुट्टाछुट्टै रुपमातीन वटै विधेयकमाथि भएको छलफलमा महेशदत्त जोशी, श्यामलाल राना थारु, डिल्लीराज पन्त, पूर्णा जोशी, टेकबहादुर रैका र मानबहादुर धामीले भाग लिएका थिए ।