त्रिभुवन विश्वविद्यालय विसंगतीपूर्ण द्वन्द्वको खेलमैदान बन्योः नेपाली कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्रिभुवन विश्वविद्यालय (त्रिवि) विसंगतीपूर्ण द्वन्द्वको खेल मैदान बन्दै गएको बताएको छ । त्रिविमा नियुक्त पदाधिकारीले प्राज्ञिक संस्थाको जिम्मेवारी अनुरूपको गरिमा राख्न नसक्दा विश्वविद्यालय अन्वेषण र चिन्तनको थलो भन्दा विसंगतिपूर्ण द्वन्दवको खेल मैदान बन्दै जानु दुःखद रहेको कांग्रेसको भनाइ छ।

प्रवक्ता विश्वप्रकाश शर्माले त्रिविमा पछिल्लो समयमा भइरहेको अनेक अनियमितता र चरम राजनीतिकरण तथा पोखरा विश्वविद्यालयमा १८ दिनदेखि जारी अनशनप्रति सरकारी वेवास्तालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

कांग्रेसनिकट प्रजातान्त्रिक प्राध्यापक संघ नेपालले त्रिविलाई प्राज्ञिक सुशासनको केन्द्र बनाउन आग्रह गरे पनि विभिन्न पदमा राजनीतिक भागबन्डा गरी सरकारले जेष्ठता र प्राज्ञिक वरिष्ठता त्रिविले मिचेको आरोप उनले लगाएका छन् ।

विज्ञप्ति जस्ताको तस्तै

१, नेकपाको वर्तमान सरकारबाट नियुक्त त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले प्राज्ञिक संस्थाको जिम्मेवारी अनुरूपको गरिमा राख्न नसक्दा विश्वविद्यालय अन्वेषण र चिन्तनको थलो भन्दा विसंगतिपूर्ण द्वन्द्वको खेल मैदान बन्दै जानु दुःखद भएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले त्रिविलाई प्राज्ञिक सुशासनको केन्द्र बनाऔं भन्ने उद्घोष साथ प्राज्ञिक, शैक्षिक एवं प्रशासनिक पदको नियुक्ति राजनितिक भागवण्डामा नगरि जेष्ठता र प्राज्ञिक वरिष्ठताको आधारमा निश्चित मापदण्ड पारदर्शी ढंगले निर्धारण गरि नियुक्ति गर्नु पर्ने लगायतका ३३ बुँदे माग अघि सारेर दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।

तर संवादवाट समाधान खोज्नु पर्ने प्रक्रिया तर्फ भन्दा प्रजातन्त्रवादी प्राध्यापक संघको नेतृत्वप्रति ब्यक्तिगत पूर्वाग्रह राखेर मुद्दा दायर गर्ने कार्यले द्वन्द्व झनै बढ्ने देखिएको छ ।

अध्यक्ष सह प्रा जगत तिमिल्सिना र महासचिव सह प्रा राजेन्द्र गौतम माथिको मुद्दा अविलम्ब फिर्ता लिएर वार्ता र संवादद्वारा समस्याको समाधान गर्न नेपाली कांग्रेस नेपाल सरकार एवं त्रिवि प्रशासन समेतलाई आग्रह गर्दछ ।

२, पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा नेपाल बिद्यार्थी संघका विद्यार्थीहरु अनशनमा बसेको ३ साता पुग्न लाग्दा पनि सरकार र विश्वविद्यालयले समाधान खोज्न पहल नगर्नु दुःखद छ ।

विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर भनेर दबाब दिंदै बिद्यार्थीहरु आन्दोलनमै उत्रनु पर्ने स्थिति आउनु सरकारका लागि लज्जास्पद स्थिति हो ।

समस्त बिद्यार्थीको भावना प्रतिनिधित्व गरेर विभिन्न जायज माग अघि सारेर अनशनमा बसेका विद्यार्थीहरुसँग अविलम्ब संवाद गर्न र माग पूरा गर्न नेपाली कांग्रेस सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।

विश्वप्रकाश शर्मा, प्रवक्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *