वीरगञ्जमा चिकित्सकसहित ६५ जनाकोरोना संक्रमित थपिए

वीरगञ्ज । कोरोना महामारीको उच्च जोखिमले वीरगञ्ज क्षेत्रमा आतंक फैलिएको छ । उच्च ज्वरोको कारणले स्वाब परिक्षण गराउनेको भीड लाग्न थालेको नारायणी अस्पतालले बताएको छ ।

वीरगञ्जमा २१ जना चिकित्सक, स्वास्थ्यकर्मी र संचारकर्मीसहित पर्सामा आज मंगलबार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये पर्साका ६५ जना रहेका छन् । 

नारायणी अस्पतालको ओपीडीमा कार्यरत वीरगञ्ज–३ प्रगतिनगरका ३३ वर्षीय र बारा नकटुवाका ४५ वर्षीय पुरुष, अस्पतालकै पेड्रियाट्रिक वार्डमा कार्यरत बारा पथलैयाका २३ वर्षीय पुरुष र अस्पतालकै क्वाटरमा बस्दै आएकी ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी अस्पतालकै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङको आधारमा ५ वर्षीया बालिका, ३३ वर्षीया महिला र ५६ वर्षीय पुरुषमा पनि संक्रमण भएको छ ।

नेशनल मेडिकल कलेजमा कार्यरत ३१ र ३० वर्षीय दुई जना चिकित्सक र २३ वर्षीय एक युवकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी वडा कार्यालय विर्तामा कार्यरत ६ जना सुरक्षाकर्मी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरका अनुसार नयाँसँगै पर्सा जिल्लामा ३२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिस्थित सिमरा क्वारेन्टिनका ४५ वर्षीय पुरुष र निजगढमा कार्यरत ३० वर्षीय सशस्त्र प्रहरीसहित ५ जनामा कोरोना देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *