डोटीमा घर भत्किँदा एकै परिवारका चारको मृत्यु

डोटी  । डोटीमा एउटा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा हिजाे राति एक बजे घर भत्किदाँ अन्य पाँच जना घाइते भएका छन् ।

अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको स्थानीय गोविन्द पार्कीले जानकारी दिएका छन् ।

घटनामा लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । घरका पाउना लोगेकी सासु र साला पनि घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका सदरमुकाम ल्याइँदैछ ।

उद्धारमा संलग्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आदर्श गाउँ कमिटी अध्यक्षसमेत रहेका गोविन्द पार्कीले राति सुतिरहेकाे बेला घर भत्किँदा ठूलो क्षति भएको हाे ।

घटनामा चार जनाकाे ज्यान गएकाे र प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले जानकारी दिए । तर मल्लले घटनाको विस्तृत विवरण भने आउन बाँकी बताए ।उनले भने, ‘तीन तले घर रहेछ, भत्कन लागेपछि भागेर आँगनमा पुग्दासम्म भत्किसकेपछि पुरिएर मृत्यु भएको भन्ने आएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *