बाढीपहिरोबाट क्षति पुगेका स्थानीय तहलाई प्रदेश सरकारले सहयोग गर्ने

वाग्मती । वाग्मती प्रदेश सरकारले बाढीपहिरोबाट क्षति पुगेका स्थानीय तहलाई राहतका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहलाई रकम पठाउने निर्णय गरेको हो ।

समितिका अध्यक्ष तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाका विभिन्न क्षेत्रमा भएको क्षतिका आधारमा सहयोग उपलब्ध गराउने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिएका छन । समितिको निर्णयअनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिकालाई रु ३० लाख, धादिङकै सिद्धलेक गाउँपालिका र गजुरी गाउँपालिकालाई रु २०÷२० लाख, नुवाकोटको बेलकोटगढी नगरपालिकालाई रु २० लाख, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकालाई रु १५ लाख र बाह्रबिसे नगरपालिकालाई थप रु १५ लाख, दोलखाको गौरीशङ्कर गाउँपालिकालाई रु ३० लाख, कालिञ्चोक गाउँपालिकालाई रु १५ लाख र बिगु गाउँपालिकालाई रु १५ लाख रकम उपलब्ध गराउने निर्णय गरिएको मन्त्री जम्कट्टेलले जानकारी दिए ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेशका प्रमुख सचिव मानबहादुर विश्वकर्मालगायत सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *