काठमाडौं । सरकारले लामो दुरीको यातायात र विमान सेवा भदौ १५ गतेसम्म नखोल्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।
गत साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्नालगायतका गतिविधि भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको थियो ।
तर कोरोना भाइरस महामारीको जोखिम बढ्दै गएको उल्लेख गर्दै सीसीएमसीको आइतबारको बैठकले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षाजस्ता कार्य भदौ मसान्तसम्म स्थगित गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
