भारतले विदेशमन्त्री एस जयसंकरको बुद्धसम्बन्धी भनाइ सच्च्यायो

काठमाडौं । भारतले उसको विदेशमन्त्री एस जयशंकरको भनाइ सच्च्याउँदै गौतम बुद्ध नेपालमै जन्मिएको बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सञ्‍चारकर्मीको प्रश्‍नको जवाफ दिँदै आइतबार साँझ गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्‍नेबारे कुनै शंका नभएको बताएका हुन । उनले भने, “गौतम बुद्धको जन्म नेपालमा लुम्बिनीमा भएकोमा कुनै शंका छैन ।”

भारतीय विदेशमन्त्री जयशंकरले शनिबार एक कार्यक्रममा गौतम बुद्ध महान भारतीय भनेर चिन्‍ने गरेको बताएका थिए । उनले भनेका थिए, “गौतम बुद्ध र महात्मा गान्धीलाई हामीले मात्र होइन विश्वले नै महान भारतीयका रुपमा चिन्छ ।”

यसको प्रतिवाद गर्दै परराष्ट्र मन्त्रालयले आइतबार नै प्रेस विज्ञप्तिमार्फत गौतम बुद्धको जन्मस्थानबारेको बहस आवश्यक नभएको र यसबारे अन्तर्राष्ट्रिय समुदाय जानकार भएको बताएको थियाे ।

“यो सत्य हो कि बौद्ध धर्म नेपालपछि संसारको अन्य भागहरुमा फैलिएको हो । गौतम बुद्धको जन्मस्थानको विषयमा शंकारहीत र निर्विवादित छ”, मन्त्रालयले भन्यो, “त्यसैले यो बहसको विषय हुन सक्दैन । सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय यसबारे जानकार छ ।”

यसअघि सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै गौतम बुद्ध नेपालमै जन्मिएको बताएको कुरा पनि परराष्ट्रुले स्मरण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *