काठमाडाैँ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई भारतीय भनी प्रचार गरेकोमा आपत्ति जनाएका छन् । सत्तारुढ दलका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख नेपालले सरकारलाई यस विषयमा औपचारिकरुपमा भारतसँग कुरा गर्न अनुरोध पनि गरेका छन् ।
“नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ,” उनले भने, “ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा–नरहँदै वेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसद्मै “बुद्ध नेपालमा जन्मिएका हुन्” भनेर स्पष्ट रूपमा उल्लेख गरेको सन्दर्भ जोड्दै नेता नेपालले भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुखद् रहेको बताएका छन् ।

