काठमाडौँ । कोरोना भाइरसको महामारीसँगै मुलुकमा लकडाउन भएपछि हालसम्म ४६ हजार ३ सय १२ जना अलपत्र नेपालीको विदेशबाट उद्धार गरिएको छ । गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशमा अलपत्र अवस्थामा रहेका नेपालीको उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स १२ हजार ५ सय एक, साउदी अरेबिया ६ हजार ९ सय ९७, मलेसियाबाट ६ हजार ७ सय ९४, कुवेत ६ हजार ३ सय २९, कतार पाँच हजार २ सय ५१, अफगानिस्तान ३३, ओमान ६ सय ३६, म्यानमार २६, थाइल्याण्ड ३ सय २६, दक्षिण कोरिया ७ सय २०, बङ्गलादेश ८ सय ४१, माल्दिभ्स ७ सय नौँ, सिङ्गापुर २ सय ९७, हङकङ ८९, पाकिस्तान ७२, बहराइन ९ सय ८०, अमेरिका ४ सय २३, बेलायत २ सय २९, इजरायल १ सय २७, चीन २ सय आठ र टर्कीबाट १ सय १० जना नेपाली स्वदेश फर्किएका छन् ।
त्यसैगरी फिलिपिन्स२०१, स्वीट्जरल्याण्ड १०, इराक ३९, दक्षिण सुडान २५०, सेन्ट्रल अफ्रिकन रिपब्लिक ६८, श्रीलङ्का पाँच, जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन् । तर स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको तथ्याङ्क यकिन छैन ।
विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव स्वदेश ल्याई परिवारलाई बुझाइएको छ । हालसम्म १७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ ।