काठमाडौं । मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि कुटपिट भएको घटनाको थप विवरण मलेसियास्थित नेपाली राजदुतावासले सार्वजनिक गरेको छ । गत जुलाई ७ तारिखमा बिहान १० बजे एमथ्री मलमा उक्त घटना भएको र कुटपिट गर्ने व्यक्तिसमेत नेपाली भएको दूतावासले जनाएको छ ।
पीडित व्यक्ति नवलपरासीका इस्लाम हुसेन हुन् भने कुटपिट गर्ने कपिलवस्तुका राम गोपाल मुराउ रहेको दुतावासले उल्लेख गरेको छ । पीडित र पिडक दुवैजना दूतावासको सम्पर्कमा आएका छन् । दूतावासको सम्पर्कमा आएका मुराउले हुसेनलाई कुटपिट गर्ने आफू नै भएको स्वीकारसमेत गरेका छन् । पीडित हुसेन सोही मलका सेक्युरिटी गार्ड र कुटपिट गर्ने मुराउ सुपरभाइजरको रुपमा कार्यरत रहेको दुतावासले जनाएको छ ।
मलेसियाको अध्यागमन कानूनअनुसार उनीहरु दुवैजना अवैधानिक कामदारसमेत रहेको दूतावासल उल्लेख गरेको छ ।
दूतावासमा उपस्थित भएका पीडक मुराउ सोमबार नै आफैं मेलेसियन प्रहरीसमक्ष उपस्थित भएका छन् । घटनाको थप अनुसन्धान क्वालालम्पूरको वाङ्सामाजुस्थित प्रहरीस्टेशनले गर्ने दूतावासले जानकारी दिएको छ ।
