काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद चरम उत्कर्षमा पुगेको बेला आज बालुवाटारमा भएको अध्यक्षद्वयबीचको बैठक जनै पूर्णिमाको शुभकामना आदन प्रदानमा मात्र सिमित भएको छ । बैठकमा विवादको विषय प्रवेश भए पनि ठोस निश्कर्ष केही निस्किएन ।
केही दिन अवरुद्ध भएर आइतबारबाट सुरु भएको दुई अध्यक्षबीचको सोमबारको संवादमा जनैपूर्णिमाको शुभकामना साटासाट भयो, स्रोतले भन्यो, त्यसपछि विषयवस्तुमा प्रवेश भएपनि कुनै सहमति हुन सकेन वार्ताको निरन्तरता मात्रै भयो ।
बालुवाटारमा बिहान ९ बजे सुरु भएको डेढ घण्टा लामो संवादमा नेता झलनाथ खनाल र सुवास नेम्वाङलाई पनि सहभागी गराइएको थियो । नेता खनाल प्रचण्ड र नेम्वाङ ओलीका तर्फबाट वार्तामा सहभागी भएका थिए ।
संवादमा अध्यक्ष प्रचण्डले स्थगित स्थायी समिति बैठकको तत्काल मिति तोक्न र समस्या समाधान गर्न अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए । स्थायी समिति बैठक सुरु गरी त्यहाँबाट विवादको छिनोफानो गरौँ, प्रचण्डको भनाइ उद्धिृत गर्दै स्रोतले भन्यो, साथीहरुको भावना पनि त्यही छ । लामो समय स्थयी कमिटी स्थगित गर्दा कार्यकर्तामा निरासा प्रकट भएको कार्यकारी अध्यक्ष प्रचण्डको भनाइ रहेको थियो । तर प्रचण्डको कुरा सुनेपछि अध्यक्ष ओलीले पहिला सचिवालयमा सहमति गरेर मात्रै स्थायी समिति बैठक बोलाउनुपर्ने अडान राखेका स्रोतले बताएको छ ।
‘सचिवालयमा घनिभूत छलफल गरौँ । त्यसपछि मात्रै स्थायी समिति बैठक बोलाऔं’ अध्यक्ष ओलीको भनाइ थियो । बैठक बोलाउने र नबोलाउने दुवै पक्षले अडान नछाडेपछि पुनः भोलि छलफल गर्ने गरी नेताहरु उठेको बताइको छ ।
