बडीमालिकाको पूजाका लागि सरकारी टोली त्यसतर्फ प्रस्थान

मार्तडी । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकाको पूजाका लागि आज सरकारी टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।

जिल्ला सदरमुकाम मार्तडीबाट बडीमालिकाको पूजाकालागि पूजा सामग्रीसहित सरकारी टोली त्यसतर्फ पठाइएको बडीमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले जानकारी दिए । साउन शुक्ल पूर्णिमाका अघिल्लो दिन हुने बडीमालिकाको पूजाका लागि सो टोलीलाई औपचारिक रुपमा बाजागाजासहित बिदाइ गरेको नगरपालिकाका उपप्रमुख कविता विष्टले बताइन् । सरकारी पूजाका लागि नगरपालिकाका नायब सुब्बा विवेश शाह नेतृत्वको टोली बडीमालिकामा गएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रङ्गमल विकले जानकारी दिए।

बडीमालिकाको दर्शनपछि मागेको पूरा हुने र मनमा शान्ति मिल्ने जनविश्वास रही आएको छ । यस्तै पूर्वी उत्तरी भेगको बुढीनन्दाको पूजाका लागि पनि आज नै पूजा टोली त्यसतर्फ प्रस्थान गरेको बुढीनन्दा नगरपालिकाले जनाएको छ ।

चार शक्ति पीठमा एकैपटक पुजा

जिल्लाका चार शक्ति पीठमा एकै दिन पूजा लाग्ने गरेको छ । जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलका रुपमा रहेका बडीमालिका, बुढीनन्दा, बडालेख र सुनन्दामा एकैदिन अर्थात साउन पूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गरेको छ ।

शक्तिका रुपमा रहेका धार्मिक पीठमा आ–आफ्नै तरिकाले पूजा आरधना गर्ने गरिन्छ । बडीमालिकाको पूजाकालागि गएको सरकारी टोली आज लादे पाटनमा बस्ने र भोलि मात्र त्रिवेणी क्षेत्रका लागि प्रस्थान गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *