काठमाडौं । आफ्नै श्रीमतीको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद घटाउने सर्वोच्च अदालतले गरेको फैसलाले नयाँ मोड लिएको छ । महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आज पूर्ण इजलासमा पेसी चढेपछि यो घटनाले नयाँ मोड लिएको हो । उक्त मुद्दामा न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा पेसी तोकिएको छ ।
कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि यसअघि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । जन्मकैदको सजायँ भाेगिरहेका कोइरालालाई सर्वोच्च अदालतले केही दिनअघि ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि निवेदन दर्ता गरेको थियो ।
निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचाराधीन बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाउपर परेको पुनरावलोकन निवेदन अब तीन जना न्यायाधीशबाट सुनुवाइ हुने भएको छ । पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासबाट सुनुवाइ हुने बताइएको छ । संवैधानिक व्यवस्थाअनुसार पुनरावलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुङ्गो नलाग्दासम्म यो मुद्दा विचाराधीन बनेको छ ।
