काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग चार दिनपछि खुल्यो, आजबाट ठूला गाडी चल्ने



धादिङ । काठमाडौँ जोड्ने नेपालकै सबैभन्दा व्यस्त पृथ्वी राजमार्ग चार दिनपछि खुलेको छ । अविरल वर्षापछि बाढी पहिरोका कारण सोमबारेदेखि अवरुद्ध पृथ्वी राजमार्गमा शुक्रबारदेखि साना सवारी साधन गुड्न थालेका छन् । आज बिहानैबाट ठूला सवारी साधन चल्न दिइएको छ । सोमबार आएको बाढीपहिरोले धादिङ र चितवन जिल्लाको सीमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्णरुपमा ठप्प भएको थियो ।

बाढीले भत्काएको भागमा डिभिजन सडक कार्यालयले नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरेको स्थानीय पत्रकार मुरारी अधिकारीले बताएका छन् । पुलको मर्मतपछि मोटरसाइकल, साना चारपाङ्ग्रे सवारी र एम्बुलेन्सलगायत सवारी चल्न थालेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार मौवाखोलामा मर्मत गरेर पुलकोे केही भाग बनाइएकाले शुक्रबार साना गाडी चल्न थालेका तर मर्मत कार्य सम्पन्न नभएकाले ठूला गाडीहरू चल्न दिइएको थिएन । शनिबार बिहानबाट ठूला गाडी पनि चल्ने गरी मर्मतलाई अगाडि बढाइएको उनले बताए ।

पुल मर्मतको काम चलिरहेको भएपनि पहिरोका कारण ठाउँठाउँमा राजमार्ग अवरुद्ध छ । सोमबारको पहिरो पन्छाएर एकतर्फी बाटो सञ्चालन गरिए पनि बिहीबार रातिको वर्षापछि आएको पहिरोले सडकमा समस्या आएको रेग्मीको भनाइ छ । राजमार्गमा पहिरो जानेक्रम नरोकिएकाले गाडी चलाउँदा ओभरटेक नगरी संयमित र सजग भएर सञ्चालन गर्न प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *