विवाहका लागि अपरहण गर्ने परम्परा तोड्ने प्रयास शुरु

जकार्ता । इन्डोनेसियाली अधिकारीहरुले विकट टापु सुम्वामा रहेको विवाहका लागि केटी अपहरण गर्ने परम्परागत कुरिती हटाउने प्रतिवद्धता जनाएका छन् ।

त्यसरी दुलही अपहरण गरिँदै गरेको भिडियोका कारण त्यस कुप्रथा बारे राष्ट्रिय बहश शुरु भएको छ । यसबारे २८ वर्षीया सित्रा नामक युवती आफु अपहरित भएको अनुभव यसरी सुनाउँछिन् ।

‘एकदिन दुईजना पुरुष आएर आफुहरु स्थानीय अधिकारी भएको परिचय दिए । तिनीहरुले मैले सञ्चालन गरिरहेको सहयोग परियोजनालाई आर्थिक सहयोग गर्न चाहेको बताए । शुरुमा त मलाई तिनीहरुसँग जान अप्ठ्यारो महशुस भएको थियो । तर आफ्नो परियोजना सम्झेर मैले नकारात्मक शंका मनबाट हटाएँ । एक घन्टापछि तिनीहरुले अर्को स्थानमा पनि बैठक बस्नुपर्छ भन्दै तिनीहरुको कारबाट जान अनुरोध गरे ।

म आफ्नै मोटरसाइकलबाट आउँछु भन्दै मोटर साइकलमा साँचो घुसाउँदै मात्र थिएँ । अचानक अन्य केही पुरुषहरु पनि आएर मलाई च्याप्पै समाए । मलाई जवर्जस्ती कार भित्र राखिँदै गर्दा म चिच्याएँ, लडिबुडी गर्न खोजें । मेरो केही पनि लागेन । पहिलै कारभित्र रहेका अन्य दुईजना पुरुषले मलाई भित्र ताने । मलाई के हुँदैछ भन्ने थाहा भयो । मलाई विवाहका लागि अपहरण गरिँदै थियो ।’

स्थानीय भाषामा ‘काविन तान्गकाप’ भनिने यस्तो अपहरण कार्य विवाह गर्न चाहने पुरुषका परिवार वा साथी भाइबाट गराइन्छ । महिला अधिकारवादी समुहले लामो समयदेखि यस प्रथा बन्द गराउने कोशिस गदै आएका छन् । यसपालि पनि इन्डोनेसियाको बालीदेखि पूर्वमा पर्ने सुम्वामा भएकाे यस्तो घटनाका दुई वटा भिडियो सामाजिक सञ्जालमा भाइरल हुनासाथ सर्वत्र विरोध हुन थालेको हो ।

तर सित्राले निकै विरोध र संघर्ष गरी आफूलाई जवर्जस्ती विवाह हुनबाट जोगाएकी थिइन् । त्यसका लागि उनले छ सात दिनसम्म अपहरण गर्ने परिवारले दिएको अन्न र जल मुखमै हालिनन् । उनलाई कसैले नदेख्ने गरेर आफ्नी बहिनीले खाना ल्याएर दिने गरेकी थिइन् । तिनीहरुले दिएको खाना खाएको खण्डमा विवाहका लागि राजी भएको ठानिथ्यो । आफ्नै ब्वाइफ्रेन्ड भएका सित्रालाई अनमेल विवाहबाट जोगाउन अन्तत उनका परिवार र महिला अधिकारवादी समुह सफल भएका थिए ।

विश्वका अन्य मुलुकका विभिन्न समुदायमा पनि कहिँकतै अझैसम्म यस्तो जवर्जस्ती अर्थात् अनमेल विवाह कुप्रथा कायम रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *