कोरोना प्रभावित पत्रकारलाई पत्रकार महासङ्घ युकेको सहयोग

लण्डन । कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारलाई नेपाल पत्रकार महासङ्घद्वारा स्थापित कोषमा महासङ्घ बेलायतले रु २३ लाख सहयोग गर्ने भएको छ । शनिबार लण्डनमा जुममार्फत बसेको बैठकले सो निर्णय गरेको शाखाले जनाएको छ ।

सहयोग गरिएको रकममध्ये रु २० लाख अक्षयकोषमा राखिने तथा रु ३ लाख कोरोना प्रभावित श्रमजीवी पत्रकारका लागि तत्काल खर्च गरिनेछ । पत्रकार महासङ्घ केन्द्रीय समितिले स्थापना गरेको सो आपत्कालीन कोषमा यसअघि केन्द्रीय समितिले रु ३० लाख जम्मा गरिसकेको छ । केन्द्रीय समितिले सो कोषमा कम्तीमा रु १ करोड जम्मा गर्ने लक्ष्य लिएको छ ।

शाखाले सन् २०१७ मा बेलायतमा च्यारिटी कार्यक्रम गरेर सङ्कलित रकमबाट सो सहयोग गरेको हो । यस्तै बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी मगरको अध्यक्षतामा भएको सो बैठकले बेलायतमा कार्यरत नेपाली पत्रकारलाई प्रोत्साहन गर्नका लागि एक हजार पाउण्ड राशिको ‘एफएनजे युके पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी महासङ्घद्वारा आपत्कालीन कोष सञ्चालन निर्देशिका तथा मापदण्ड बनाउन गठित समितिमा शाखाका महासचिव सञ्जयभक्त कँडेललाई पठाउने निर्णय पनि गरिएको छ । बैठकमा महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले कोभिड–१९ बाट उत्पन्न समस्याका कारण नेपालमा झण्डै २ हजार पत्रकारले रोजगारी गुमाएको तथा देशभरि ७५० भन्दा बढी पत्रपत्रिका तथा पाँच एफएम रेडियो स्टेशन बन्द भएको जानकारी दिए ।
महासङ्घका महासचिव रमेश विष्टले रोजगार गुमाएका पत्रकारलाई मानवीय सहयोग गर्न आपतकालीन कोष खडा गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *