पोल्याण्डमा नेपाली संस्कारअनुसार ढकालको दाहसंस्कार, सरकारी संयन्त्रको अभावमा हप्तादिनसम्म शव पत्ता लागेन

शेरबहादुर परियार

वार्सा (पोल्याण्ड) । मृत्यु भएको १० दिनपछि पोल्याण्डमा एक नेपालीको हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ । मोरङ जिल्ला विराटनगर स्थायी घर भएका रमेश ढकालको हिन्दू संस्कारअनुसा नेपाली समुदायकै पुरोहित लक्ष्मण कडेंलले मृत्युसम्वन्धी सम्पूर्ण रितिरिवाजसहित दाहसंस्कारको काम सम्पन्न गरेका थिए ।

१२ वर्षयता पोल्याण्डमा बस्दै आएका ढकालको जुलाई ७ तारिखका दिन मृत्यु भएको थियो । एनआरएनए पोल्याण्डका अध्यक्ष नरेश सापकोटाले ढकालको शव आज दिउँसो १ बजे प्रान्सकी अस्पतालको शवदाह गृहमा अन्तिम दाहसंस्कार गरिएको जानकारी दिए । ढकाल विभिन्न रोगबाट पीडित थिए ।

उनको दाहसंस्कारअघि एनआरएनए पोल्याण्डले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । श्रद्धाञ्जली सभामा एनआरएनए पोल्याण्डका सल्लाहकार एवं पोल्याण्डका लागि अवैतनिक पर्यटनदूत डा उदयदेव आचार्य, एनआरएनए पोल्याण्डका उपाध्यक्ष जीवन केशी, जनसम्पर्क समितिका महामन्त्री नारायण चालिसेलगायतको उपस्थिति रहेको थियो ।

ढकालको शव पत्ता लगाउनै कठिन भयोः एनआरएनए

मृत्यु भएको एक हप्तासम्म पनि उनको स्थितिकाे बारेमा कुनै नेपालीलाई जानकारी थिएन । एनआरएनएका महासचिव कविन्द्र सुवेदीका अनुसार जुलाई ७ का दिन ढकालको मृत्यु भएको अपुष्ट समाचार आएको थियो । ढकालसँग आफ्नो पुरानो चिनजान रहेको भए पनि अविवाहित रहेकोले उनको घर परिवारले खासै वास्ता गर्दैनथे । डेनमार्कमा रहेका उनका भाइ पर्ने काकाको छोरा गणेश ढकालले मृतक रमेशको पछिल्लो स्थितिकाे बारेमा जानकारी दिएका थिए । तर विभिन्न कानुनी अड्चनको कारणले अन्य जानकारी पाउन नसकिएको महासचिव सुवेदीले बताए । उनले भने, ‘मृत्यु भएको समाचार आएको भए पनि पोल्याण्डको सूचनाको कानुनी जटिलताको कारण शव कहाँ छ भनेर पत्ता लगाउन ज्यादै कठिन भयो । एनआरएनएका सल्लाहकार तथा पोल्याण्डका लागि अवैतनिक पर्यटन दूत डाक्टर उदयदेव आचार्यको व्यक्तिगत सम्पर्क सुत्र प्रयोग गरेर एक हप्तापछि मात्र शव रहेको स्थान पत्ता लाग्यो ।’

एनआरएनएका सल्लाहकार डा उदयदेव आचार्यका अनुसार मृतक ढकाल सन् २००८ देखि पोल्याण्डमा शरणार्थी शिविरको सुरक्षा क्याम्पमा रहेको थिए । उनी स्पाइनल कर्डको गम्भीर बिरामी थिए भने पछिल्लो समयमा खाना खान नमान्ने रोगबाट समेत पिडित थिए । शिविर प्रशासनले ढकाललाई पछि केयर सेन्टरमा राखेको थियो । डाक्टर आचार्य आफू नेपालको अवैतनिक पर्यटन दूत हाे भनेपछि मात्र उनको अवस्थाबारे केयर सेन्टरले आंशिक जानकारी दिएको बताउँछन् । बिरामीकै कारण ६५ किलोबाट घटेर २५ किलो तौलमा झरेका उनको स्पाइनल कर्डको शल्यक्रिया गर्ने तयारी गरिएको थियो । शल्यक्रियाको अगिल्लो दिनमा नै उनको निधन भएको डा आचार्यले जानकारी दिए ।

मृत्यपछि ढकालको शव खोज्न हप्तादिन लागेपछि पोल्याण्डमा रहेका नेपालीहरुले आफ्नो सरकारको सम्पर्क संयन्त्र आवश्यक भएको बताएका छन् । पछिल्लो समय पोल्याण्डमा नेपालीहरु कामदार भिषामा आउने क्रम बढेसँगै नेपालीको संख्या ह्वात्तै बढेको छ । नेपालीहरुको संख्या बढेसँगगै समस्याहरु थपिएपछि सरकारको सम्पर्क संयन्त्रको आवश्यकता खट्किएको एनआरएनए पोल्याण्डका अध्यक्ष नरेश सापकोटाले बताए ।

अध्यक्ष सापकोटाले पोल्याण्डमा भन्दा थोरै नेपाली रहेका अन्य देशहरुमा अवैतनिक दूत रहेको उल्लेख गर्दै एनआरएनए पोल्याण्डले आगामी बैठकहरुबाट त्यसको विषयमा औपचारिक छलफल गरी एनआरएनए केन्द्रमार्फत नेपाल सरकार समक्ष अनुरोध गर्ने बताए ।

सल्लाहकार डा आचार्यले पोल्याण्डमा नेपालका लागि अवैतनिक दूतको आवश्यकता रहेको कुरामा जोड दिदैँ त्यहाँ क्रियाशील संघसंस्थाहरुले साझा एजेण्डाको रुपमा साे विषय उठाउनुपर्ने बताए । त्यसको संयोजन एनआरएनए पोल्याण्डले गर्नुपर्ने उनले सुझाव दिए ।

चर्चित पानी अभियानका अभियान्ता तथा पोल्याण्ड नेपाल डट कमका सञ्चालक मित्रलाल पार्देले पोल्याण्डका नेपालीहरु कागजी कामको लागि जर्मनी जानुपर्ने र दिनप्रतिदिन पोल्यान्डमा नेपालीहरुकाे संख्या बढिरहेको सन्दर्भमा समस्या थपिदैँ गएकाे बताउँछन् । उनले भने, आवश्यक कागजातको समस्या समाधानदेखि पोल्याण्ड सरकारसँग पनि सहजीकरण गर्न सहज हुने र सरकारका यस्तो संयन्त्रले पोल्याण्ड र नेपालबीचको सम्बन्ध नजिक हुनेछ । पोल्याण्डमा तत्काल दूतावास सम्भव नभएपनि अवैतनिक दूतको अनिवार्य आवश्यक्ता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *