दिल्ली । भारतका विदेशमन्त्री एस जयशङ्करले नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपालसँग विकासका विभिन्न क्षेत्रमा साझेदारी भएको बताए पनि विपक्षी गठबन्धन एवम् भारतीय कांग्रेसका नेता राहुल गान्धीले मोदी सरकारको विदेश नीतिबारे प्रश्न उठाउँदै त्यसकाे कडा खण्डन गरेका छन् ।
संसारका विभिन्न देशहरूसँग भारतको सम्बन्धबारे समीक्षा गर्दै ट्विटरमार्फत् सार्वजनिक गरिएको भिडियोमा गान्धीले छिमकीसँगको सम्बन्धबारे भनेका छन्, यसअघि नेपाल हाम्रो मित्र थियो । कूटनीतिक मौनता र विवादास्पद अभिव्यक्तिले नागरिकस्तरमै सम्बन्ध बिगार्ने खतरा भएको छ ।
भिडियोको सुरुमा नेपालको प्रसङ्ग उठाउँदै नेता गान्धीले अहिले नेपाल हामीसँग रिसाएको छ, तपाईँ नेपाल जानुहोस्, नेपालीसँग कुरा गर्नुहोस्, जे भएको छ त्यसले हाम्रो हित गर्दैन भनेका छन् ।
विपक्षी गठबन्धन एवम् कांग्रेसका नेता राहुल गान्धीले मोदी सरकारको विदेश नीतिबारे प्रश्नसमेत उठाएका छन् । उनले पकिस्तानबाहेक भुटान, श्रीलङ्कालगायतका छिमेकीसँग मित्रवत् सम्बन्ध र साझेदारी रहेको भनेका छन् । नेता गान्धीले नेपालमा लगाइएको भारतीय नाकाबन्दीका लागि जयशङ्करले पश्चात्ताप गर्नुपर्ने बताएका छन् ।
नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदनमा अझै अन्योल भएको उल्लेख गर्दै नेता गान्धीले विदेशी साझेदार र छिमेकीसँग विगत छ वर्षमा भारतले सम्बन्ध बिगारेको आरोप लगाएका छन् ।
नेता गान्धीकोे ट्वीटको विदेशमन्त्री एस जयशङ्करले ट्वीटमार्फतै खण्डन गर्दै १७ वर्षपछि भारतीय प्रधानमन्त्रीकाे नेपाल भ्रमण भएको उल्लेख गरेका छन् । उनले नेता गान्धीलाइ नेपालले बिजुली, इन्धन, आवास, अस्पताल, सडकलगायतका विकास परियोजना प्राप्त गरेको छ, त्यहाँका नागरिकलाई सोध्नुहोस् भनेका छन् ।

नेपालले संविधान जारी गर्ने बेला विदेशसचिव रहेका जयशंखरले काठमाडौं आएर नेताहरूलाई ‘असन्तुष्ट पक्षका माग नसमेटिएको’ भन्दै संविधानमा जारी गर्ने तालिका पछाडि सार्न आग्रह गरेका थिए । उक्त आग्रहविपरित नेपालका नेताहरूले नयाँ संविधान जारी गरेका थिए ।
नेपालले संविधान जारी गरेपछि भारतले अघोषित नाकाबन्दी गरेसँगै दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण बन्न पुगेको थियो । तात्कालीन विदेशमन्त्री सुष्मा स्वराजले नाकाबन्दी लगाइएको पछि मात्रै स्वीकार गरेकी थिइन् । नाकाबन्दीबारे भारतीय संसद्मा विपक्षी दलका सांसदहरूले सरकारको चर्को आलोचना गरेपछि उनले भनेकी थिइन्, ‘यस्तो पहिलो पटक भएको होइन । मलाई भन्न विवश बनाइयो । पहिला पनि सन् १९८९ मा १६ महिनासम्म नाकाबन्दी लगाइएको थियो, राजीव गान्धीको पालामा भएको थियो ।’