चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीको भगवान रामको जन्म नेपालको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि नेपाल सरकारको एक विज्ञ टोलीले अनुसन्धान गर्ने भएको छ । प्रधानमन्त्री ओलीले उल्लेख गरेको चितवनको माडीस्थित अयोध्यापुरीमा पुरातत्त्व विभागले भोलि शुुक्रबारबाट अनुसन्धान सुरु गर्ने भएको हो ।
अयोध्यापुरी क्षेत्रको अनुसन्धान गर्न पुरातत्त्व विभागको टोलीले शुक्रबारबाट काम थाल्ने विभागका एक कमर्चारीले जानकारी दिए । टोली बिहीबार चितवन आइपुगेको र शुक्रबारबाट सम्भावित क्षेत्रको अनुसन्धानमा लाग्ने बताइएकाे छ ।
माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले रामको जन्म माडी क्षेत्रमा हुन सक्ने प्रमाणहरू रहेकाे बताएका छन् । नगरपालिकाको वडा नं. १ वाल्मिकी क्षेत्रमा लवकुशको घोडा बाँध्ने स्थान, कुवा, सीता पाताल भासिएको स्थान, लवकुश खेल्ने स्थान, त्यहाँ भेटिएको प्रमाणहरू र धार्मिक ग्रन्थमा उल्लेख भएका विषय मिल्ने गरेको उनले बताए ।
अयोध्यापुरीमा पुराना इटाका टुक्रा, ढुङ्गा, माटोलगायतले केही वस्तु भएको देखाउने यहाँका स्थानीय श्रीप्रसाद दवाडीले जानकारी दिए । उनले भने, विषय चर्चामा आएकाले वास्तविक अवस्था के हो भन्नका लागि अनुसन्धान आवश्यक छ ।