भारत । भारतको नयाँदिल्लीस्थित उच्च अदालतले त्यहाँका सैनिकलाई फेसबूक चलाउने रोक गरेको छ । अदालतले फेसबुक र सैन्य सेवामध्ये कुनै एक रोज्नसमेत भनेको छ ।
भारतीय सेनाले गोप्य सैन्य सूचनाहरु चुहिन सक्ने भन्दै आफ्ना सबै सदस्यलाई फेसबूक प्रयोगमा रोक लगाएको थियो । त्यसलाई चुनौती दिन अदालत पुगेका सैनिक अधिकृतको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।
भारतीय सेनाले हालै आफ्ना सदस्यहरुलाई मोबाइलबाट फेसबूक, इन्स्टाग्राम, टिन्डर लगायत ८९ वटा एप हटाउन निर्देशन दिएको थियो । सूचना चुहिनसक्ने भन्दै सेनाले सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाएपछि एक जना सैनिक अधिकृतले आफूहरुले फेसबूक चलाउन पाउनुपर्ने माग गर्दै आफ्नै संगठनको निर्णयलाई अदालतमा चुनौती दिएका थिए।
अदालतले ती सैनिकले दायर गरेको मुद्दाको मेरिटमा छलफल गर्न ‘आवश्यक नरहेको’ भनेको छ। राष्ट्रिय सुरक्षाको विषय भएकाले त्यस्तो निर्णय गर्नुपरेको अदालतले जनाएको छ।
जम्मु–कश्मीरमा पोष्टिङ भएका ती सैनिक अधिकृतले साथीसँगी, परिवार र विदेशमा बस्ने आफ्नी छोरीसँग कुराकानी गर्ने माध्यम फेसबूक भएको भन्दै आफूले निर्वाधरुपमा त्यसको प्रयोग गर्न पाउनुपर्ने माग गरेका थिए । उनले आफूले एकपटक फेसबूक आइडी डिलिट गरेमा आफ्ना सबै सम्पर्क टुट्ने र आफूले त्यहाँ सुरक्षित राखेका डेटाहरु पनि गुमाउनुपर्ने दावी गरेका थिए। तर, उनको त्यस्तो दाबीबाट अदालत प्रभावित नभएको एजेन्सीहरुले जनाएका छन् ।
‘यहाँ तिमीले भनेजस्तो गरी चल्दैनु, अदालतले भनेको छ, ुतिमीले जहिल्यै नयाँ आईडी बनाउन सक्छौ । कृपया अहिले डिलिट गर । तिमी संगठनको एक भाग हौ, त्यसैले तिमी यसको नियममा बाँधिनैपर्छ।’
अदालतले ती सैनिक अधिकृतलाई सुझाव समेत दिएको छ– यदि तिमी फेसबुक चलाइरहन चाहन्छौ भने, सैन्य सेवा छाड्न सक्छौ ।