सिन्धुपाल्चोक । गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगाउँदा बेपत्ता पाँचमध्ये एक जनाकाे शव निकालिएकाे छ । स्थानीय ज्ञान्जेन शेर्पाको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ३४ वर्षकी निमा साङ्मु शेर्पाको मृत्यु भएको हो ।
एकै परिवारका अन्य चार अझै बेपत्ता छन् । बेपत्ता हुनेमा ज्ञान्जेनकी आमा ७० वर्षीया समबुट्टी शेर्पा, बहिनी ३५ वर्षीया सेम्साङ शेर्पा र छोरीहरु १५ वर्षीया याङ्जी र १२ वर्षीया आङ्मु बेपत्ता भएका वडाअध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए । ज्ञान्जेन भने कामका सिलसिलामा काठमाडौंमा बस्दै आएकाले पहिरोबाट जोगिएका छन् ।
अविरल वर्षापछि राति २ बजे पहिरो खसेको थियो । पहिरोले पुरेको अर्को घरमा भने मान्छे नबस्ने वडाअध्यक्ष शेर्पाले जानकारी दिए। पहिरोले स्थानीय सेतीदेवी पञ्चकन्या प्राविको पर्खाल र भवनमा पनि क्षति पुगेको छ । घटनास्थलमा प्रहरी र स्थानीयले खोजी गरिरहेको वडाअध्यक्ष शेर्पाले बताए ।