चेन्नई । भारतको चेन्नईमा खोलिएको स्टेट बैङ्कको शाखा कार्यलय नक्कली भएको खुलेको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा सो बैङ्कको शाखा कार्यालयका रुपमा तीन महिनादेखि कारोबार गर्दै आएको रहस्योद्घाटन भएको हो ।
तमिलनाडु जिल्लाको कडलोर जिल्लाको पनरुत्ती गाउँमा करिब ८० हजार जनसंख्या रहेको उक्त गाउँमा स्टेट बैङ्कका दुई शाखा कार्यालय सञ्चालित छन् ।तर तेस्रो कुनै शाखा नरहेको बताइएको छ ।
शाखा कार्यालयमा एक ग्राहकले नै शाखा प्रवन्धकसँग नयाँ शाखाको बारेमा सोधेका थिए– ‘तपाईंले बैङ्कको तेस्रो शाखाका बारेमा कहिल्यै भन्नुभएन त ?’ ग्राहकको यस्तो प्रश्नपछि शाखा प्रबन्धक चकित भए । उनले यस क्षेत्रमै स्टेट बैङ्कको दुईवटा मात्र शाखा रहेको बताएका थिए ।
ग्राहकले तेस्रो शाखाको कागजात देखाएपछि शाखा प्रवन्धक चकित भए । उनले क्षेत्रीय कार्यालयमा यसबारे सोधखोज गरे । तर क्षेत्रीय कार्यालयले कुनै शाखा नखोलिएको जनाएपछि उनीहरु कथित तेस्रो शाखा कार्यालय हेर्न गएका थिए ।
बैङ्क कार्यालयको सजावट, भौतिक संरचनालगायत सबै बन्दोबस्त बैङ्कको जस्तै थियो । नगद जम्मा गर्ने भौचर, रबर स्टाम्प, फाइलमा बैङ्कको नाम प्रिन्ट भएको र नगद काउन्टरमा रकम गणना गर्ने मेसिन लगायतका सामानको व्यवस्था गरिएको थियो ।
स्टेट बैङ्कको सक्कली शाखाको उजुरीका आधारमा प्रहरीले छापा मारेर नक्कली शाखा खोल्न संलग्न तीन जनालाई पक्राउ गरेको छ । उनीहरु मिलेर गत अप्रिलमा बैङ्कको नक्कली शाखा खोलेको उल्लेख गरिएको छ ।
नक्कली शाखा खोल्ने योजनाकार मानिएका १९ वर्षीय कमलले आमाबुवा नै बैङ्कका जागिरे भएका कारण आफूले सानैदेखि बैंकिङ कारोबारलाई नजिकबाट हेरेको बताएका छन् । पिताको मृत्यु भएको र आमाले पनि बैङ्कबाट अवकाश पाएपछि यसरी बैङ्क खोलेको र आफूले ठगीको उद्देश्यले नभई बैङ्क खोल्ने चाहनाका कारण यस्तो काम गरेको उनले प्रहरीसमक्ष बयान दिएका छन् ।
तीन महिनामा उनीहरुले कति निक्षेप संकलन गरे, उक्त रकम हाल कुन अवस्थामा छ, कति मानिस ठगिए भन्नेबारे अनुसन्धान भइरहेको एजेन्सीले जनाएको छ ।