काठमाडौँ । नेपाल विज्ञापन सङ्घसहितका तीन सार्वजनिक प्रसारण संस्थाले तत्काल क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन माग गर्दै आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् । सरकारले आगामी कात्तिक ८ गतेदेखि सो नीति कार्यान्वयनमा लैजाने तयारी गरिरहेका बेला उनीहरुले आगामी आर्थिक वर्षको शुरुआतीदेखि नै विज्ञापनरहित क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन आग्रह गरेका हुन् ।
नेपालको विज्ञापन बजारको विस्तार तथा नयाँ रोजगारीको सिर्जनाका लागि समेत उक्त व्यवस्थाको कार्यान्वयन महत्वपूर्ण रहेको जनाउँदै उनीहरुले केही दिन समयावधि दिएर भए पनि तोकिएको समयभन्दा अगावै अर्थात् आगामी आव शुरु भएको एकाध दिनभित्रै कार्यान्वयनमा ल्याउन माग गरेका हुन् । नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन संघ, ब्रोडकाष्टिङ एसोसिएशन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक सङ्घले क्लिन फिड नीतिलाई नयाँ आर्थिक वर्ष अर्थात् आगामी साउन १ गतेदेखि नै लागू गर्नु सबै दृष्टिकोणले उपयुक्त हुने जनाएको छ ।
नेपालमा उक्त नीति लागू गर्ने विषयमा एक दशकदेखि प्रयास भए पनि सफल हुन नसकेका सन्दर्भमा पछिल्ला दिनमा सकारात्मक वातावरण बनेको उनीहरुको भनाइ छ । विदेशी च्यानल विज्ञापनरहित गर्नु भनेको आयात निरुत्साहन गरेर नेपालको व्यापार घाटा कम गर्ने र उत्पादनशील क्षेत्रलाई लागत प्रतिस्पर्धी बनाउने एउटा महत्वपूर्ण कदम हुने उनीहरुको भनाइ छ । क्लिन फिडको सीधा लाभ राष्ट्रले पाउने जनाउँदै उनीहरुले कुनै पनि विलम्ब नगरी उक्त नीति कार्यान्वयनमा ल्याउनु देश र जनताको हितमा रहेको ठहर गरेका छन् ।
मन्त्रिपरिषद्ले २०७३ साउन ७ गते नै उक्त नीति पारित गरेको थियो । वर्तमान सरकारले विज्ञापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा क्लिन फिड नीति लागू गर्ने कानूनी व्यवस्था गरेको छ । सो व्यवस्थापछि नेपालको सीमाभित्र प्रसारण र वितरण हुने विदेशी टिभी च्यानल पूर्णरुपमा विज्ञापनरहित हुनेछ । विदेशी च्यानलको नेपालमा वितरण भन्नाले कुनै पनि प्रकारले नेपालमा आउने विदेशी माध्यम भन्ने बुझाउने र त्यसमा केवल, डिटिएच, इन्टरनेट, सामाजिक सञ्जाल युट्यूबलगायत विद्युतीय माध्यम पर्छ ।
स्वदेशी उत्पादन र उद्योगलाई समेत यो नीतिले सहयोग र विस्तारका लागि प्रवद्र्धन गर्ने मिडिया सोसाइटी नेपालका अध्यक्ष शुभशङ्कर कँडेलको भनाइ छ । क्लिन फिड नीति कोही कसैविरुद्ध लक्षित नभई नेपालका सबै व्यवसायी, नेपाल सरकार र जनताको पक्षमा केन्द्रित रहेको र सार्वभौम र राष्ट्रवादी मान्यता भएको नेपाल विज्ञापन सङ्घका अध्यक्ष रवीन्द्रकुमार रिजाल बताउँछन् ।
नेपाल मिडिया सोसाइटीलगायतले बुझाएको ज्ञापनपत्र बुझ्दै सञ्चारमन्त्री डा खतिवडाले क्लिन फिडको विषय सबैको साझा कार्यसूची भएकाले छिटो कार्यान्वयनमा ल्याउन आग्रह गरेकामा थप बल पुगेको भनी धन्यवाद दिए । उनले भने, “यो आर्थिक विषय मात्रै नभई सांस्कृतिक विषय पनि हो ।”